काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनले नेपाली कला क्षेत्रलाई निकै राम्रैसँग प्रभाव पार्यो।
कलाकारले विभिन्न पार्टीको समर्थनमा खुलरै उम्मेदवारी नै दिएर चुनावी रणभूमिमा उत्रिए।
निश्चिन पार्टी अथवा उम्मेदवारको समर्थन नगरेता पनि विभिन्न माध्यमबाट निर्वाचनमा होमिएर आफ्नो मतको सदुपयोग गर्न आग्रह चुकेनन्।
प्रतिनिधिसभा सदस्यमा लागि यस पटकको निर्वाचनमा ६ कलाकारले उम्मेदवारी दिएका थिए। तर कसैले पनि जित हात पार्न सफल भएनन्। प्रदेश सभातर्फ उम्मेदवारी दिएका एक जना कलाकारले भने जित हासिल गरेका छन् ।
रेखा थापा
प्रदेश नं. १ अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा तेस्रो नम्बरमा पुगिन्।
नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी थिइन् जसमा उनले १० हजार ९ सय ९८ मत ल्याइन् । सो क्षेत्रबाट नेपाली कांग्रेसका डा। सुनीलकुमार शर्मा ४८ हजार ६ सय ३१ मत ल्याउँदै विजयी हुँदा नेकपा एमालेका भानुभक्त ढकाल दोस्रो भए। ढकालले २५ हजार ८ सय ९५ मत ल्याए।
चुनावको परिणामपछि रेखाले आफू लामो यात्राका लागि राजनीतिमा आएको र पहिलो चुनावमा जित अथवा हारले मात्रै अर्थ नराख्ने बताएकी छिन् । जनताको आवाज लिएर संसदमा जान नपाए पनि आफू सधैँ उनीहरूको आवाज बनेर डटीररहने उनको भनाइ छ।
हिमेश पन्त
नेपाली कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्तले धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए।
पन्तले राष्ट्रिय स्वन्त्र पार्टीबाट चुनावमा उम्मेद्वारी दिएकामा उनले १२ हजार ४ सय ९४ मत ल्याएर तेस्रो स्थानमा रहे। यस निर्वाचन क्षेत्रबाट एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले ३६ हजार १८ मत ल्याएर विजयी बने भने नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले २७ हजार ९ सय ९७ मत पाएर दोस्रो भएका छन्।
यस निर्वाचनको नतिजा आफ्नो पक्षमा नआएता पनि आफ्नो राजनीतिक यात्रा भने कायमै रहने पन्तले जनाएका छन् । उनले आफ्ना मतदातालाई धन्यवाद दिँदै आफूप्रतिको विश्वास अझ फराकिलो पार्दै जाने बताएका छन्।
कोमल वली
दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट उम्मेद्वारी दिएकी गायिका कोमल वली पनि पराजित भएकी छन् । यस क्षेत्रबाट नेपाली कांग्रेसका दीपक गिरी ३६ हजार ९ सय ११ मत ल्याएर निर्वाचित भए भने गायिका वलीले २९ हजार ९२ मत पाइन्।
सञ्जय श्रेष्ठ
काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले ५ सय ७७ मत ल्याएका छन्। उनी लामो समय राप्रपामा सक्रिय रूपमा लागेका श्रेष्ठ आफूलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाई छ।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल १४ हजार २ सय २१ मत ल्याए विजयी भए भने नेकपा एमालेका सर्वेन्द्र खनाल दोस्रो तथा नेपाली कांग्रेसका भीसेनदास प्रधान तेस्रो भएका छन्।
मनोज पण्डित
निर्देशक मनोज पण्डितले काभ्रे २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले १ सय ७३ मत मात्रै ल्याउन सफल भए। नेकपा एमालेका गोकुल बास्कोटाले ७० करोड भ्रष्टाचार गरेको प्रसंगमा दिएको अभिव्यक्तिका कारण उनकै क्षेत्रबाट उम्मेदवारी दिएको बताउने पण्डित छैठौं स्थानमा आएका छन्।
यस क्षेत्रमा नेकपा एमालेका गोकुल बास्कोटाले ४५ हजार ३ सय ४५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाइँ ३९ हजार ४ सय ८२ मतसहित दोस्रो भए।
निर्वाचनको परिणामसँगै पण्डितले आफूले पाएको १ सय ७३ मतको कदर गर्ने र लोकतान्त्रिक प्रणालीलाई शक्तिशाली बनाउन लागिपर्ने बताएका छन्।
मधुसुदन पाठक
काठमाडौं ५ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका मधुसुदन पाठक ९सितेबा० ले जम्मा ३ सय ६४ मत पाएका छन् । नेपाली हाँस्य टेलिशृंखला ‘सक्किगो नि’का कलाकार पाठक यो क्षेत्रमा मत पाउने उम्मेदवारमा दशौँ नम्बरमा परेका छन् ।
काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले १५ हजार २६९ मत ल्याएर विजयी भए भने एमालेका वरिष्ठ नेता ईश्वर पोख्रेल दोस्रो स्थानमा रहे ।
रोज राणा
प्रतिनिधिसभातर्फ यसरी कुनै पनि कलाकारले जित हासिल नगर्दा प्रदेश सभा सदस्यमा भने नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका निर्माता तथा कलाकार रोज राणा विजयी भएका छन्।
प्यूठान क्षेत्र नम्बर १ (२) बाट उम्मेदवार राणाले २२ हजार ५ सय १८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिष्पर्धी एमालेका हरिप्रसाद रिजालले २० हजार ८ सय ७ मत पाएर पराजित भएका छन ।