उदयपुर। उदयपुर क्षेत्र नं. १ को मतगणना शुरु भएको छ ।
१० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना शुरु गरिएको हो । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका हुन् ।
प्रदेश सभा २ तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिएका हुन् ।
निर्वाचन अधिकृत सुवेदीका अनुसार मंसिर १० गते मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर (क), जनता मावि, देउरी (क), जनता मावि, देउरी (ख), जनता मावि, देउरी (ग), अम्वेवर मावि, राजावास (क), बालमन्दिर मावि, बोक्से (ख), मावि चिलाउने (ख) समेत १० वटा मतदान केन्द्रहरुको मतपेटिका खोली मिसाइएका मतपत्रहरु बदर हुनेछन् ।
मतगणनाको क्रममा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपेटिकाभित्र प्रदेश सभा २ अन्तर्गतका प्रत्यक्षतर्फका १०० थान मतपत्र फेला परेपछि मतगणना रोकिएको थियो ।
मत गणनाको ताजा अपडेट अनुसार उदयपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र एमालेका मञ्जु कुमारी चौधरीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।
निर्वाचन आयोगले मंसिर ५ गते गरेको निर्णयमा पनि जुन प्रणाली वा सभाको मतपत्र दोहोरो परेको हो, त्यस्तो मतपत्र बदर गर्ने भन्ने व्यवस्था बमोजिम आफूले बदर गर्ने निर्णय लिएको सुवेदीको भनाइ रहेिको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ १२:०८