काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा विचारविमर्श भएको अध्यक्ष ठाकुरले जानकारी दिएको हो ।
अध्यक्ष ठाकुरले भने, “प्रधानमन्त्रीजीसँग भेटघाट भएको हो, समसामयिक विषयमा कुराकानी भएको छ, निर्वाचनपछि उहाँसँग भेटघाट गरेको हुँ ।”
पार्टी गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धन रहनुपर्ने पक्षमा रहेको बताए ।
लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उनले जानकारी दिए ।
अध्यक्ष ठाकुरले भने, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।”
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम भोलि बुधबार सार्वजनिक हुने र त्यसपछि नयाँ सरकार गठनका लागि दलहरूले पहलकदमी अघि बढाउने बुझिएको छ ।
सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ ।
लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ २०:४२