चर्चित बेलायती उपन्यासकार सलमान रुस्दी पुरानै लयमा फर्केका छन् । अमेरिकाको न्युयोर्कमा छुरा प्रहारबाट गम्भीर घाइते भएका उनी उपचारपछि पुरानै लयमा फर्केका हुन् । यद्यपि उनको सुरक्षा थप चुनौतीपूर्ण बनेको छ ।
सन् २०२२ को अगस्ट १२ मा उनीमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते रुस्दीको भेन्टिलेटरमा उपचार गरिएको थियो। न्युयोर्कमा आयोजित कार्यक्रममा रुस्दीको माथि न्युजर्सीका २४ वर्षीय युवक हाडी मातरकले पटक पटक छुरा प्रहार गरेका थिए ।
रुस्दीको फोक्सो र कलेजोमा गहिरो चोट लागेको थियो । आक्रमणपछि रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको थियो भने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही गरेको छ । रुस्दी राल्फ हेनरी रिजसँग हुने एउटा अन्तरसंवाद कार्यक्रमका लागि न्युयोर्क गएका थिए ।
बहुमुखी प्रतिभाका धनी भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’ बाट चर्चित बने । उक्त किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । यही किताबका लागि उनले प्रतिष्ठित बुकर पुरस्कारसमेत पाए । ७६ वर्षीय रुस्दीले हालसम्म १४ वटा उपन्यास लेखेका छन् ।
सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’ का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भए । सन् १९८८ मा यो कृति प्रकाशित भएपछि रुस्दीलाई ज्यान मार्ने धम्की आउन थाल्यो । पुस्तक प्रकाशनको एक वर्षपछि सन् १९८९ मा इरानका सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खामेनीले सलमान रुस्दीको हत्याको आह्वान गर्दै फतवा जारी गरे ।
खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए । पुस्तकले इस्लाम धर्मको अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो । बेलायती सरकारले रुस्दीलाई प्रहरी सुरक्षाको व्यवस्था पनि गरेको थियो ।
यो उपन्यास प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा पुस्तकका अनुवादकसहित कैयौँ मानिस मारिएका थिए । ‘द सटानिक भर्सेस’ प्रकाशनपछि जारी भएको फतवा र विवादलाई नै केन्द्रमा राखेर उनले ‘जोसेफ एन्टोन’ शीर्षकमा संस्मरणसमेत लेखेका छन् ।
रुस्दीको जीवन जहिले पनि खतरामा परेको छ । पाँच दशकदेखि साहित्यको क्षेत्रमा सक्रिय उनले आफ्नो कामको लागि धम्की र मृत्यु चेतावनीको सामना गर्नुपरेको छ । उनको यो चौथो उपन्यास ‘द सटानिक भर्सेस’ सबैभन्दा विवादास्पद कृति हो । यस उपन्यासलाई लिएर विश्वभर हङ्गामा भएको थियो ।
रुस्दीको यो उपन्यासले मुस्लिमहरूलाई गहिरो चोट पु¥यायो । अवस्था कस्तो बन्यो भने इरान र बेलायतले कूटनीतिक सम्बन्ध समेत तोडेका थिए । यद्यपि रुस्दीलाई पश्चिमा मुलुकको समर्थन रहेको छ । मुस्लिम कट्टरपन्थीहरूले लेखक रुस्दीलाई दिइएको धम्कीको पश्चिमा बुद्धिजीवी र साहित्यकारहरूले आलोचना गर्दै आएका छन् ।
सन् १९४५ मा मुम्बईमा जन्मिएका रुस्दी १४ वर्षको उमेरमा अध्ययन गर्न बेलायत गए । पछि उनले किङ्ग्स कलेज, क्याम्ब्रिजबाट इतिहासमा औपचारिक अध्ययन पूरा गरे । उनी बेलायती नागरिक बनी बिस्तारै इस्लाम धर्मबाट टाढा भए । उनले केही समय अभिनेताको रूपमा पनि काम गरे । पछि उनले विज्ञापनको क्षेत्रमा आएर कपिराइटरको भूमिकामा काम गरे । यससँगै उनले उपन्यास पनि लेखे ।
उनको पहिलो पुस्तक ‘ग्राइमस’ ले खासै सफलता पाउन सकेन । रुस्दीले आफ्नो अर्को पुस्तक ‘मिडनाइट चिल्ड्रेन’ लेख्न पाँच वर्ष लगाए । यो पुस्तक विश्वभर लोकप्रिय भयो । रुस्दीको ‘मिडनाइट चिल्ड्रेन’मा भारतको बारेमा कथा थियो, तर दुई वर्षपछि आएको उनको तेस्रो उपन्यास ‘सेम’ पाकिस्तानका बारेमा थियो । चार वर्षपछि उनले निकारागुआमा आफ्नो यात्राको बारेमा ‘जगुआर स्माइल’ लेखे ।
‘द सटानिक भर्सेस’ सन् १९८८ को सेप्टेम्बरमा प्रकाशित भएको थियो । उक्त किताबले उनको जीवनलाई खतरामा धकेलिदियो । मुस्लिमहरूको एक समूहले यस उपन्यासलाई ईश्वरनिन्दक ठाने र यसविरुद्ध व्यापक विरोध प्रदर्शन गरे । भारतले यस उपन्यासलाई प्रतिबन्ध लगायो । त्यतिबेला भारतमा राजीव गान्धीको सरकार थियो । त्यसपछि पाकिस्तान, दक्षिण अफ्रिका र अन्य धेरै इस्लामिक देशहरूले यसलाई प्रतिबन्ध लगाए ।
यद्यपि, यो उपन्यासलाई धेरै विधामा प्रशंसा पनि गरिएको थियो र यसलाई ह्वाइटब्रेड पुरस्कार पनि दिइएको थियो । तर पुस्तकको विरोध बढ्दै गयो र दुई महिनापछि यसको विरोधमा सडकमा प्रदर्शन हुन थाल्यो । मुस्लिमहरूले यो उपन्यासलाई इस्लामको अपमानको रूपमा हेरिरहेका थिए । मुस्लिमहरूको विरोध धेरै कुरामा थियो, तर दुई वेश्या पात्रका बारेमा विशेष विरोध थियो । तिनीहरूको नाम पैगम्बर मुहम्मदका दुई पत्नीको नामसँग हुबहु थियो ।
सन् १९८९ को जनबरीमा, ब्राडफोर्डका मुस्लिमहरूले पुस्तकको प्रतिहरू जलाए । पुस्तक बेच्ने समाचार एजेन्सी डब्लूएच स्मिथले पुस्तक प्रकाशन गर्न बन्द गरे । यसैबीच, रुस्दीले भने ईश्वरनिन्दाको सबै आरोप अस्वीकार गरे।सन् १९८९ को फेबु्रअरीमा मुस्लिमहरूले रुस्दीविरुद्ध मुम्बईमा ठूलो विरोध प्रदर्शन गरे । यस प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १२ जनाको मृत्यु भएको थियो भने ४० भन्दा बढी घाइते भएका थिए ।
सन् १९८९ को फेब्रुअरीमा भारत प्रशासित कस्मिरमा ‘द सटानिक भर्सेस’को विरोधमा प्रदर्शन गरिरहेका मानिस र प्रहरीबीचको झडपमा तीन जनाको मृत्यु भएको थियो भने सयभन्दा बढी घाइते भएका थिए । यसै क्रममा पाकिस्तानको इस्लामावादस्थित अमेरिकी सूचना केन्द्र बाहिर प्रदर्शनकारी र प्रहरीबीच भएको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भयो भने ८३ जना घाइते भए । उक्त भीडले अमेरिकामा पुस्तकमाथि प्रतिबन्ध लगाउन माग गरेको थियो ।
सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले रुस्दीको हत्याको आह्वान गर्दा दिल्लीको जामा मस्जिदका शाही इमाम अब्दुल्ला बुखारीले पनि उनलाई समर्थन गर्दै रुस्दीको हत्याको लागि आह्वान गरे । यसै क्रममा इरानमा भएको प्रदर्शनमा बेलायती दूतावासमा आक्रमण भएको थियो । रुस्दीको हत्या गर्नेलाई पुरस्कार पनि घोषणा गरिएको थियो ।
त्यति नै बेला तनावपूर्ण समयमा बेलायतका केही मुस्लिम नेताहरूले संयमको लागि अपिल गरिरहेका थिए, अरूले अयातोल्लाह खामेनीलाई समर्थन गरिरहेका थिए । अमेरिका, फ्रान्स र अन्य पश्चिमी देशहरूले रुस्दी हत्या धम्कीको आलोचना गरे ।
विश्वभर विरोध र इरानले हत्याको फतवा जारी गरेपछि रुस्दी आफ्नी श्रीमतीसँग लुकेर बस्नु पर्यो । मुस्लिम धर्मावलम्बीहरूलाई चोट पुर्याएकोमा गहिरो दुःख प्रकट गर्दै उनले माफी मागे । तर अयातुल्लाहले फेरि उनको हत्याको फतवा जारी गरे ।
रुस्दीको पुस्तक प्रकाशक पेन्गुइन वाइकिङद्वारा प्रकाशन गरिएको थियो । प्रकाशकको लन्डन कार्यालय बाहिर प्रहरी तैनाथ गरिएको थियो भने न्युयोर्कको कार्यालयमा पनि धम्की आएको थियो । तर किताब एट्लान्टिक महासागरको दुवैतर्फ अर्थात् अमेरिका र युरोपमा निकै लोकप्रिय भयो । मुस्लिमहरूको चरम प्रतिक्रिया विरुद्धको प्रदर्शनलाई युरोपेली देशहरूले समर्थन गरे र लगभग सबै युरोपेली देशहरूले इरानबाट आफ्ना राजदूत फिर्ता गरे ।
रुस्दी सन् २००४ मा मुम्बई आउँदा मुस्लिमहरूले चर्को विरोध गरे । उक्त पुस्तकको विषयवस्तुका कारण लेखक सलमान रुस्दीले मात्रै धम्कीको सामना गर्नुपरेको थिएन । जापानी भाषामा पुस्तक अनुवाद गर्ने अनुवादकको शव सन् १९९१ को जुलाईमा टोकियोको उत्तरपूर्वी विश्वविद्यालयमा फेला परेको थियो ।
प्रहरीका अनुसार अनुवादक हितोसी इगाराशीलाई सुकुबा विश्वविद्यालयको कार्यालय बाहिर धेरै पटक छुरा प्रहार गरी मृत्युका लागि छोडिएको थियो । उनी त्यहाँका सहायक प्राध्यापक पनि थिए ।
सन् १९९१ का जुलाईमा पुस्तकको इटालियन अनुवादक एटोरो क्याप्रियोलोलाई मिलानमा उनको अपार्टमेन्टमा हमला गरियो । यद्यपि उनी आक्रमणबाट बच्न सफल भए । सन् १९९८ मा इरानले रुस्दीको हत्याको लागि आह्वान गरेको फतवा फिर्ता लियो ।
अतः चर्चित लेखक रुस्दीको जीवनरक्षा र सुरक्षा फेरि चुनौतीपूर्ण बनेको छ । उनीमाथि भएको छुरा प्रहार अत्यन्त अमानवीय कार्य हो । अब उनका उचित सुरक्षा प्रबन्ध मिलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन आवश्यक छ।
- नामी साप्ताहिक