एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा जारी प्रदर्शनकारीमाथिको दमनलाई रोक्न सम्भावित सैन्य कारबाहीका नयाँ विकल्पहरूबारे ब्रिफिङ दिइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले पेन्टागनका वरिष्ठ अधिकारी, राष्ट्रिय सुरक्षा सल्लाहकार र अन्यसँग गोप्य छलफल गर्दै तेहरानका गैरसैनिक लक्ष्यहरू समेत निशाना बनाउने विकल्पहरूबारे जानकारी लिएका छन् । यद्यपि ट्रम्पले अझै सैन्य कारबाहीको अन्तिम निर्णय गरेका छैनन् ।
इरानमा आर्थिक संकटका कारण सुरु भएको प्रदर्शन दुई साता नाघ्दा देशव्यापी बनेको छ । बढ्दो महँगी, मुद्रा अवमूल्यन र सरकारको नीतिविरुद्ध सुरु भएको आन्दोलनमा दर्जनौं प्रदर्शनकारी मारिएका छन् भने हजारौं पक्राउ परेका छन् । सरकारले इन्टरनेट पूर्ण रूपमा बन्द गरेर प्रदर्शनको जानकारी बाहिर आउन रोकेको छ । सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सरकार पछि नहट्ने बताउँदै प्रदर्शनकारीलाई कडा कारबाहीको चेतावनी दिएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी सरकारलाई चेतावनी दिँदै आएका छन् कि प्रदर्शनकारीमाथि गोली चलाए अमेरिका हस्तक्षेप गर्न तयार छ । उनले "लक्ड एन्ड लोडेड" अर्थात् तयार रहेको बताएका छन् । यसअघि जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई अमेरिकी सेनाले पक्राउ गरेर नार्को–टेररिजम अभियोगमा मुद्दा चलाएको घटनापछि ट्रम्पको चेतावनीलाई इरानले गम्भीरतापूर्वक लिएको विश्लेषण गरिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन वार्ता गर्दै इरानको स्थितिबारे छलफल गरेको बताइएको छ । ट्रम्प प्रशासनले इरानमा सैन्य कारबाही गरे जनमत सरकारतर्फ जान सक्ने वा क्षेत्रीय प्रतिशोधको जोखिम बढ्ने चिन्ता पनि व्यक्त गरेको छ । यसबीच प्रदर्शन जारी रहेकाले स्थिति थप तनावपूर्ण बन्दै गएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ ०९:३१