काठमाडौं । इरानले विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिने होर्मुज समुद्री जलमार्ग बन्द गरिएको दाबी गरेको छ। उक्त मार्ग भएर आवतजावत गर्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी समेत दिएको छ।
इरानी राज्य टेलिभिजनसँग कुरा गर्दै इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का कमान्डर–इन–चिफका वरिष्ठ सल्लाहकार इब्राहिम जब्बारीले जलमार्ग बन्द गरिएको घोषणा गरेका हुन्।
उनले भने, “होर्मुज समुद्री जलमार्ग बन्द गरिएको छ। यदि कसैले पार गर्ने प्रयास गरेमा, रिभोलुसनरी गार्डका वीरहरू र नियमित नौसेनाले ती जहाजहरूलाई जलाएर नष्ट गरिदिनेछन्।”
जब्बारीले जहाजहरूलाई उक्त क्षेत्रमा नआउन चेतावनी दिँदै त्यस्तो प्रयास भए गम्भीर प्रतिक्रिया दिइने बताए। साथै, उनले अमेरिकीहरू यस क्षेत्रको तेलका लागि सक्रिय रहेको आरोप लगाउँदै इरानले आवश्यक परे क्षेत्रका पाइपलाइनहरूमा समेत प्रहार गर्न सक्ने दाबी गरे।
होर्मुज जलमार्ग ओमान र इरानबीच अवस्थित छ। यो विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो। विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गर्छ।
यस जलमार्गमा कुनै पनि प्रकारको अवरोध उत्पन्न भए अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्ने र क्षेत्रीय तनाव थप चर्किने जोखिम रहने विश्लेषकहरूको भनाइ छ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ ०९:५०