कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएको छ।
पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेको हो । पाण्डेलाई नेपाली काँग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र स्वतन्त्र एक गरी ३५ सांसदको समर्थन छ ।
गत वैखाख १२ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेको थियो।
वर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
गण्डकीमा काँग्रेस र माओवादीले आलोपालो सरकार सञ्चालनको सहमति गरेका छन् । सुरुको पालोमा काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले शुक्रबार पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १९:३९