भैरहवा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याबिनेटमा आज तीन जना मन्त्री थपिएको छ।
मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट १/१ जना गरी ३ जना थपेर सात सदस्यीय मन्त्रि परिषद् बनाएको हो। लुम्बिनी प्रदेशमा सोमबार नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएको छ।
नेपाली कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएको हो ।
खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना विना विभागीय मन्त्रीको पनि जिम्मेवारी तोकको छ ।
नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएको छ ।
यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएको थियो । लुम्बिनीमा अझै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीसँगै छ।
बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
मन्त्रिपरिषदमा पठाउने सांसदहरुको विषयमा कुरा नमिलेपछि माओवादीले विस्तार भएको मन्त्रिपरिषदमा कसैको नाम नपठाउँदा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेन ।
माओवादी संसदीय दलका नेता जोख बहादुर महाराले भने माओवादीमा विवादका कारण नभई मूख्यमन्त्रीले मागेको आधारमा मन्त्री पठाईएको बताए। लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेको थियो।
यस्तै लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुटवलका बुद्ध बहादुर थापा नियुक्त भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थापालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो ।
बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थापा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन्।
राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । थापालाई पनि सोमबार नै शपथ ग्रहण गराईएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १३:३३