संसारमा केही धर्महरू छन् जसलाई धेरै मानिसहरूले श्रद्धापूर्वक ग्रहण गर्छन् । कुनै पनि धर्म आफैमा राम्रो अथवा नराम्रो हुँदैन। त्यसलाई अपनाउने मानिसले कसरी जीवनमा बुझेर एक आपसमा व्यवहारत उतार्छ ।
त्यसमा सबै धर्मावलम्बीहरूको वास्तविक पहिचान लुकेको हुन्छ । वास्तवमा संसारभरि नै धर्म र अध्यात्मलाई एउटै दृष्टिकोणबाट हेर्ने र बुझ्ने समुदाय धेरै छन् तर धर्म र अध्यात्ममा एकदमै ठूलो भिन्नता हुन्छ । धर्मले कुनै एउटा विशेष समुदायलाई डोर्याइरहेको हुन्छ भने अध्यात्मले जगतकै नेतृत्व गरेको हुन्छ।
संसारमा रहेका सबै धर्महरूले मानवताको दृष्टिकोणलाई अपनाएर व्यक्त गर्ने धारणाहरू प्राय एकै किसिमको हुन्छ। कुनै पनि धर्मले अमानवीय कार्य अथवा मानव कल्याणरहित कार्य गर र गर्न लगाउ भन्दैन जसरी संसारमा धेरै गुरुहरु स्वरूपका दृष्टिकोणले फरक फरक देखिएता पनि स्वार्थबाट ओतप्रोत भएका केही अपवाद बाहेक तिनीहरुमा भएको ज्ञान एउटै हुन्छ ।
अहिले संसारमा देखिएका सबै झडपहरू अध्यात्मलाई नबुझी धर्मलाई मूल आधार मानेर अगाडि बढेका समुदायहरू का कारण भएको हो भनेर भन्दा खासै गलत हुँदैन । एउटै धर्मबीच कोरिएका रेखाहरू ले जन्माउने विवादलाई नियाल्दा अध्यात्मको वास्तविक महत्वलाई बुझ्न सरल हुन्छ। मुस्लिम धर्ममा सिया र शून्य बीच हुने गरेको द्वन्दबाट हामीले धर्म र अध्यात्म बीचको भिन्नतालाई अझ राम्ररी बुझ्न सक्छौँ।
मुस्लिम धर्ममा जस्तो द्वन्दमै नहोमिएको भएतापनि संसारमा धेरै मानिसहरूले अपनाउने सनातन हिन्दू धर्म र बुद्ध धर्ममा पनि विभिन्न समूहहरूले अपनाउने धार्मिक गतिविधिहरु मा भिन्नता देखिन्छ । तर यी दुई वटा धर्मका धर्मावलम्बीहरू लचिलो र आक्रामक नभएका कारण एक आपसमा अप्रिय घटनाहरू घटाउँदैनन् ।
यसरी एकआपसमै आन्तरिक रूपमा मोक्ष प्राप्त गर्ने बाटाहरू फरक फरक भएको अवस्थालाई झेलिरहेको हाम्रो आध्यात्मिक गन्तव्यले झन् पृथक धर्महरू बीचको सामाजिक व्यवस्थापनलाई शान्तिपूर्ण ढङ्गले कसरी अगाडि बढाउला यो प्रश्न द्वन्द्वको सम्भावनाहरूको निकट रहेको अहिलेको विश्वमा ज्यादै विचारणीय र सोचनीय भएर उपस्थित भएको छ ।
माथि उल्लेखित सबै तर्क वितर्कहरूले धर्म र अध्यात्म बीचको भिन्नतालाई आजका विश्वका मानिसहरूले बुझ्न नसकेका कारण उत्पन्न समस्याको जडलाई इङ्कित गर्दछ । अध्यात्मले विश्वभरि रहेका सबै मानिसहरूको नेतृत्व गर्ने भएकै कारण एकआपसमा असमझदारीहरू निम्तिन दिँदैन। किनभने अध्यात्म नितान्त मानवताको पक्षमा मुखरित हुन्छ ।
अझ यसलाई सरल ढङ्गले बुझ्ने हो भने सन्तान र आमाबीचको भिन्नतालाई केलाएर हेर्दा सजिलो हुन्छ। एउटा परिवारमा पाँचजना छोरा–छोरी छन् भने तिनीहरूको सोच, विचार र व्यवहार एउटै आमाको कोखबाट जन्मिएता पनि फरक फरक हुन सक्छ। तर आमाको सोच, विचार अनि व्यवहार सबै सन्तानप्रति एकै किसिमको हुन्छ । ठिक त्यस्तै अध्यात्मले कुनै पनि जाति समुदाय अथवा देश, महादेश विशेषलाई सीमान्तकृत गरी अपनाउँदैन। यो त जगतकै हित र संरक्षणका लागि आधार बनेर खडा भएको हुन्छ ।
तसर्थ अहिलेको विश्वको नकारात्मक परिस्थितिलाई चिन्तन मनन गर्दै संसारभरि रहेका हामी जति पनि धर्मावलम्बीहरू छौँ। ती सबैले आफ्नो विनाशको कारण आफैंलाई नबनाई धर्मलाई होइन अध्यात्मलाई अपनाउँ । र संसारभरि रहेका सम्पूर्ण मानवको हित र संरक्षणका लागि समर्पित बनौँ। अन्यथा हामीले बुझेको ज्ञान नै हाम्रो विनाशको कारण बन्नेछ ।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२ ०९:०१