काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सहमतिपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने भएको छ।
दिनभरको लामो छलफलपछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिने सहमति भएको हो।
सहमति नजुटे जेनजी आन्दोलनमा रहेका युवाहरुले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपश्चात राष्ट्रपति पौडेल प्रतिनिधिसभा विघटन गर्नेमा सहमत भएका थिए ।
अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा तयार गर्ने लगायतका कामहरु भइरहेको स्रोतले बताए । सुशीला कार्कीको अहिले साँझ ९ बजे शपथ गराउने तयारी समेत भइरहेको छ ।
विभिन्न राजनीति दलहरुले यही संसद्भित्रबाट कार्कीलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोज्न राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिँदै आएका थिए। तर, जेनजीद्वारा प्रस्तावित सरकार प्रमुख कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडान गर्दै आएकी थिइन्।
राष्ट्रपति कार्यालयमा बिहीबार रातिदेखि शुक्रबार दिनभर चलेको वार्ता निष्कर्षविहीन टुंगिएको थियो। यहाँसम्म पनि कुनै सहमतिको छाँट नदेखिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लगाउनुपर्ने अवस्था समेत आउनसक्ने चेतावनी दिएका थिए।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ २०:२६