ओम प्रकाश विष्ट
काठमाडौँ । युनिटी कप अन्तर्गतको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ । गएकाे शनिबार राति संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रनको प्रतिस्पर्धात्मक योगफल बनायो । सुरुवात भने राम्रो भएन । नेपालले १२ रनमै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएकाे थियाे ।
भुर्तेल ११ बलमा ६ रन बनाएर आउट भए भने आसिफ शेख होल्डरको बलमा क्यासी कार्टेको हातबाट क्याच आउट भएका थिए । त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले पारी सम्हालेका थिए ।
रोहितले ३५ बलमा ३८ रन र कुशल मल्लले २१ रन बनाए । गुलशन झा ले १६ बलमा २२ रनको योगदान दिए भने दिपेन्द्र सिंह ऐरीले १९ बलमा १७ रन बनाएर होल्डरकै बलमा नविन विदासीको हातबाट क्याच आउट भएका थिए । सोमपाल कामी पाँच बलमा ६ रन बनाउँदै अविजित रहे । करण केसी शून्यमा आउट भए भने नन्दन यादवले २ बलमा ७ रनको योगदान दिए ।
वेस्ट इन्डिजका लागि होल्डर सर्वाधिक प्रभावशाली बलर साबित भए । उनले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । नाभिनले ३ विकेट र होसिनले १ विकेट लिए ।
१४९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको वेस्ट इन्डिज नेपालका बलरहरूको कडाइपूर्ण आक्रमणका कारण २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै रोकियो । वेस्ट इन्डिजका लागि नाभिनले सर्वाधिक २२ रन बनाए भने अमिर र फाबेनले समान १९–१९ रन जोडेका थिए ।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए । करण केसी, नन्दन यादव, रोहित पौडेल र ललित राजवंशीले समान १–१ विकेट लिए । सोमपाल कामी भने आजको खेलमा महँगो सावित भए । उनले पुरा ४ ओभरमा ४३ रन खर्चिए तर विकेट विहीन रहे । सन्दीप लामिछाने आजको खेलमा बेन्चमा थिए ।
खेल जितेसँगै प्लेयर अफ द म्याच घोषित कप्तान रोहित पौडेलले यो पुरस्कार हालैका आन्दोलनमा भएका शहीदहरूलाई समर्पित गरेका थिए । यस जितसँगै नेपालले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । दुबै टोलीबीचको दोस्रो खेल नेपाली समयअनुसार आगामी सोमबार राति ८:१५ बजे हुनेछ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०८२ ०८:२०