काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने संकेत गरेका छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने तयारीमा बालेन रहेको रास्वपाका नेताहरूले बताएका छन् ।
आइतबार काठमाडौंमा रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकको नेतृत्वमा आएको टोलीसँगको भेटघाटका क्रममा बालेनले झापा–५ को वस्तुस्थिति र जिल्लाको समग्र अवस्थाबारे चासो राखेका थिए । लामो छलफलपछि बालेनले झापा–५ बाटै निर्वाचनमा उठ्ने तयारी रहेको र प्रतिनिधिसभा निर्वाचनको प्रचार अभियान पनि झापाबाटै सुरु गर्ने संकेत दिएको पाठकले जानकारी दिए ।
रास्वपासँग पार्टी एकता भएपछि बालेनलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरिएको छ । आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले काठमाडौं बाहिर चुनावी अभियानमा निस्कने संकेत गरेका छन् । उनले लेखेका छन्, “शुभकामना सबैलाई, हामी आउँदै छौं ।”
स्राेतका अनुसार माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन चुनावी प्रचारका लागि झापा पुग्ने र माघ ६ गते उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । प्रचार अभियानका क्रममा उनले देशभरका १६५ वटै निर्वाचन क्षेत्र पुग्ने र पुराना नेताहरूको ‘राजनीतिक किल्ला’ भत्काउने रणनीति बनाएका छन् ।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा तय गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ । यस क्रममा बालेनको पहिलो परीक्षा एमाले अध्यक्ष ओलीविरुद्धको भिडन्त हुनेछ । झापा–५ एमालेको संगठन बलियो मानिने क्षेत्र भए पनि दमकजस्ता सहरी क्षेत्रमा युवा मतदाताको संख्या उल्लेख्य रहेको छ । बालेन र रास्वपाले यही नयाँ र तटस्थ मतदातालाई आफ्नो पक्षमा पार्न सकिने विश्वास लिएका छन् ।
झापा–५ एमालेको गढका रूपमा चिनिन्छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए भने रास्वपाका सुरेश पोख्रेलले ११ हजार ७ सय मत ल्याएका थिए ।
नेपाल टाइम्सको एक भिडियोमा प्रसारित समाचारअनुसार बालेनले पुरानो पुस्ताका शीर्ष नेताहरूलाई उनीहरूको ‘सुरक्षित’ मानिएका निर्वाचन क्षेत्रमै चुनौती दिने रणनीति बनाएकाे बताएका छन् । बालेनको उद्देश्य संसद् प्रवेश मात्र नभई, वर्षौंदेखि एउटै क्षेत्रमा पकड जमाएका नेताहरूलाई नयाँ पुस्ताको शक्ति देखाउनु र ओलीको राजनीतिक किल्ला भत्काउनु रहेको बताइएको छ ।
रास्वपा झापाको नेतृत्व पनि बालेनले सहजै चुनाव जित्ने विश्वासमा देखिन्छ । सभापति पाठकले भने, “बालेन आफैं नआए पनि यहाँ स्वतन्त्र वा रास्वपाकै उम्मेदवार उठाएर केपी ओलीलाई हराउन सकिन्छ भन्नेमा जिल्ला समिति दृढ छ । बालेन आफैं आउने कुराले उत्साह अझ बढेको छ ।”
पार्टी एकतापछि बालेन कुन क्षेत्रबाट निर्वाचनमा उठ्नेछन् भन्ने विषयमा चासो बढेको थियो । धेरैले ओलीप्रति कटु टिप्पणी गर्दै आएका बालेन उनकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न सक्ने अनुमान गरेका थिए । ओली र बालेनबीच विगत केही समयदेखि आरोप–प्रत्यारोप चल्दै आएको छ । ओलीले भदौ २४ को घटनालाई लिएर बालेनलाई समेत जोड्ने प्रयास गरेका थिए ।
उनीहरूबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । यही पृष्ठभूमिमा झापा–५ बाट पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गर्ने योजनासहित बालेन चुनावी प्रतिस्पर्धाको तयारीमा जुटिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ ०८:०४