काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेसको विभाजनका कारण आगामी निर्वाचनमा कुनै असर नपर्ने बताएका छन् ।
शुक्रबार चितवनको भरतपुर महानगरपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उठेको उल्लेख गर्दै चुनाव प्रभावित हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
उनले भने, “निर्वाचनको मुखमा ठूलो पार्टीको विभाजन हुनु कसैका लागि पनि राम्रो होइन। तर यसैलाई देखाएर निर्वाचन रोकिने अवस्था छैन ।”
प्रचण्डले सरकारका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायसँग छलफल गर्दा कांग्रेसको विभाजनका कारण निर्वाचनमा असर नपर्ने जवाफ आएको जानकारी दिए ।
सबै दलहरू निर्वाचनमा केन्द्रित भइसकेकाले निर्वाचन हुनेमा ढुक्क हुन उनले आग्रह गरे । साथै, आफ्नो दलले प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरण प्रक्रिया सुरु गरिसकेको पनि उनले बताए ।
प्रचण्डले वर्तमान अवस्थामा निर्वाचनबाहेक अन्य कुनै विकल्प नभएको उल्लेख गर्दै अन्य विकल्पतर्फ सोच्न थालिए देशमा दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिए । सोही कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जीर्ण भवनबाट सेवाग्राहीहरूलाई सेवा दिन असहज भएकाले नयाँ भवन निर्माण गरिएको बताए । महानगरपालिकाका अनुसार ६ तले यो प्रशासकीय भवन ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
प्रकाशित मिति: शनिबार, माघ ३, २०८२ ०७:०८