मान्छेले त्यसै दुरी बढाऊदैन...
ऊ टाढिन्छ
तिम्रो व्यवहारबाट,
तिम्रो बोलीबाट,
र असहज वातावरणबाट
जसले उसको मनलाई बिस्तारै थिच्दै लैजान्छ।
जहाँ सानो कुरामा पनि गुनासो हुन्छ,
जहाँ बुझाइभन्दा दोषारोपण धेरै हुन्छ,
जहाँ प्रेमभन्दा अहंकार ठूलो सुनिन्छ
त्यहाँ बसिरहनु कसैका लागि सजिलो हुँदैन।
सबैभन्दा ठूलो पीडा तब हुन्छ
जब आफ्नै मान्छेहरूबीच
आफ्नो अस्तित्व नै हल्का भएको महसुस हुन्छ...
जब भावना मजाक बन्छ,
जब बोलेको कुरा सुन्ने कोही हुँदैन,
र जब नगरेको गल्तीको हिसाब बढी गरिन्छ।
त्यसपछि मान्छे भित्रभित्रै थाक्छ...
बाहिर मुस्कुराए पनि
मन चुपचाप टुट्दै जान्छ।
मान्छे एक्लोपन रोज्दैन,
ऊ त सधैं माया, सहारा र समझदारी खोज्छ...
तर जब उसले बारम्बार तिरस्कार पाउँछ,
ऊ टाढा जानुलाई नै शान्ति सम्झिन्छ।
सम्बन्धमा दूरी सधैं टाढा भएर आउँदैन,
कहिलेकाहीँ नजिक भएर पनि
मनहरू धेरै टाढा भइसकेका हुन्छन्।
साँचो सम्बन्ध त्यही हो—
जहाँ शब्दले चोट नदियोस्,
जहाँ असहमतिमा पनि सम्मान जोगियोस्,
जहाँ गल्तीमा सजाय होइन,
समझदारी र माया मिलोस्।
किनकि अन्ततः—
मान्छे मानिसबाट होइन,
उसले महसुस गर्ने व्यवहारबाट टाढा हुन्छ...
र जब मनले शान्ति पाउन छोड्छ,
त्यसपछि ऊ चुपचाप टाढा जान्छ—
कसैसँग होइन...
आफ्नै शान्तिको खोजीमा।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १९:५९