प्रकृति र मानव सभ्यताबीचको सन्तुलन जब बिग्रन्छ तब प्रकृतिले आफ्नो कठोरता देखाउन थाल्छ। आजको विश्वले झेलिरहेको सबैभन्दा ठूलो चुनौती जलवायु परिवर्तन हो ।
औद्योगिक विकास, वन विनाश र इन्धनहरूको अत्यधिक प्रयोगका कारण पृथ्वीको तापक्रम अनपेक्षित रुपमा बढिरहेको छ। यसैको परिणामस्वरूप आज प्राकृतिक विपतले विश्वभरि नै एउटा ताण्डव मच्चाइरहेको छ।
जलवायु परिवर्तनले वर्षाको चक्रलाई पूर्णत अस्तव्यस्त बनाइदिएको छ कहिले लामो समयसम्म खडेरी पर्ने त कहिले छोटो समयमा मुसलधारे वर्षा हुने प्रवृत्ति बढेको छ । यसले गर्दा भीषण बाढी र पहिरोको जोखिम बढेको छ । नेपालको सन्दर्भमा भन्दा विगत केही दिन यता मौसम एकदमै जोखिम पूर्ण रहेको छ ।
झापा जिल्ला कृषिको भण्डार मानिन्छ तर पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारणले असिनापानी हावा हुरीले ठूलो विनाश निम्त्याएको छ। कृषकले लगाएको नगदे बाली, तरकारी खेती तथा मकै खेती तहस नहस भएको अवस्था छ। धेरै घर तथा विद्यालयहरू भत्किएका छाना उडेको अवस्थामा रहेका छन्। विद्युत तथा सञ्चार माध्यमहरू अवरुद्ध भएका छन्।
यसरी जलवायु परिवर्तनले एकदमै ठूलो आर्थिक नोक्सानी पुर्याएको छ। एकातिर बैंकको ऋण लिएर खेती गरेका किसानहरू बाली नष्ट भएपछि आर्थिक अवस्था कमजोर भई परिवारका आधारभूत आवश्यकताहरू पूरा गर्न नसक्ने अवस्थामा पुग्दछन् भने अर्कोतिर बजारमा तरकारी र खाद्यान्नको मूल्य ह्वात्तै बढ्छ । जसको असर उपभोक्ताहरुलाई पर्ने हुन्छ। त्यसैले वातावरण प्रदूषणले मानिसको जीवनशैली तथा जैविक विविधतामा ठूलो असर पारेको छ ।
जलवायु परिवर्तन अब केवल वैज्ञानिक बहसको विषय मात्र रहेन यो त हाम्रो घर आगनमा आइपुगेको विषम अवस्था हो। प्रकृतिको यो ताण्डवलाई रोक्न वा यसको असर कम गर्न विश्व समुदायलाई कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र वातावरण संरक्षणमा एकजुट हुनुको विकल्प छैन हामीले आजैदेखि प्रकृतिसँगको सम्बन्ध सुधारेनौ भने भविष्यका पुस्ताले अझ भयावह स्थितिको सामना गर्नुपर्नेछ।
याे पनि :
नामी साप्ताहिक
प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३ ०७:३८