बालबालिका देशका भविष्य मात्र होइनन्, घर–परिवारका आशाका किरण पनि हुन्। तर, पछिल्लो समय आधुनिकता र प्रविधिको बढ्दो प्रयोगसँगै हाम्रो समाजमा एउटा भयानक शत्रु भित्रभित्रै सल्किरहेको छ ‘लागू औषध दुव्र्यसन’ ! कतिपय बालबालिकाहरू थाहै नपाई यो दलदलमा फसिरहेका छन्। जसले गर्दा व्यक्ति मात्र होइन, सिङ्गो परिवार र समाज नै छिन्नभिन्न भइरहेको छ।
यो समस्याबाट हाम्रा सन्ततीलाई जोगाउन कहाँनिर चुक भइरहेको छ? हामी कहाँ चुकिरहेका छौं? यसमा कसको के भूमिका हुन्छ भन्नेबारे गम्भीर बहस र सहकार्यको खाँचो देखिएको छ। स्वीकार नगरेपनि मलाई लाग्छ पहिलो जिम्मेवारी अभिभावकले नै लिनुपर्छ । जग बलियो बनाउने पहिलो काम अभिभावकको नै हो! यसमा पारिवारिक व्यवहार, रेख देख, आपसी समझदारी आवश्यक छ। बालबालिका कुलतमा फस्नुको पछाडि खराब साथी–संगत एउटा ठूलो कारण त हो नै, तर त्योभन्दा पनि ठुलो कारण पारिवारिक वातावरण र अभिभावकीय जिम्मेवारीको कमी हो।
समयको अभाव, व्यस्तताका नाममा आफ्ना सन्ततीलाई पर्याप्त समय नदिँदा, रेख देख नगर्दा,निगरानी नराख्दा, उनीहरू एक्लोपन महसुस गर्छन् र त्यो खालीपन मेट्न गलत बाटो रोज्छन्। पारिवारिक कलहका कारण घरमा दिनहुँ हुने झैझगडा र अशान्त वातावरणले बालबालिकामा मानसिक तनाव सिर्जना गर्छ, जसबाट उम्किन उनीहरू सान्त्वनाको खोजीमा कुलततर्फ आकर्षित हुन्छन्। अभिभावक हुनु भनेको केवल आर्थिक आवश्यकता पूरा गरिदिनु मात्र होइन, आफ्ना छोराछोरीका भावना, उनीहरूका साथीभाइ र दैनिक व्यवहारको सूक्ष्म निगरानी गर्नु पनि हो। समाजले के भन्ला ? भन्ने डर लुकाउने प्रवृत्तिको घातक परिणाम स्वरूप लागू औषध दुव्र्यसनले झनै धेरै विकराल अवस्था लिँदै गइरहेको छ।
हाम्रो समाजमा एउटा ठूलो रोग छ । समस्यालाई समाधान गर्नुभन्दा पनि लुकाउन खोज्नु। जब कुनै अभिभावकले आफ्नो सन्तान लागू औषधको कुलतमा फसेको चाल पाउँछन्, तब उनीहरू “समाजले थाहा पाए इज्जत जान्छ“ भन्ने डरले त्यसलाई दबाउन खोज्छन्। लागू औषध दुव्र्यसन कुनै अपराध होइन, यो एउटा मानसिक र शारीरिक रोग हो। रोगलाई लुकाएर राखे भित्रभित्रै नियन्त्रण गर्न नसक्ने गरी फैलन्छ तर समयमै उपचार गरे निको हुन्छ। व्यवहार लुकाउने यही प्रवृत्तिका कारण बालबालिकाहरूले बेलैमा परामर्श वा उपचार पाउँदैनन् र बिस्तारै उनीहरू अपराधको बाटोमा समेत धकेलिन पुग्छन्। यसले गर्दा चोरी, डकैती र हिंसा जस्ता सामाजिक विकृतिहरू तीब्र रूपमा बढिरहेका छन्। यो राष्ट्रिय समस्याबाट बालबालिकालाई बचाउन समाजका हरेक अङ्ग उत्तिकै जिम्मेवार र सक्रिय हुन जरुरी छ।
परिवारले बालबालिकाको रेखदेख पालनपोषणमा जिम्मेवार हुन सक्नुपर्छ। अभिभावकहरू छोराछोरीका शासक होइन, साथी बन्नुपर्छ। उनीहरूसँग दैनिक रूपमा खुला कुराकानी गर्ने, गल्ती गर्दा गाली गर्ने भन्दा पनि मायाले बुझाउने र उनीहरूका साथीहरूको सर्कल कस्तो छ भन्ने कुरामा सचेत रहनुपर्छ। समाजक्ले कुलतमा फसेका बालबालिकालाई समाजले ’अपराधी’ वा ’कलङ्क’ को रूपमा हेरेर घृणा गर्नु हुँदैन। उनीहरूलाई सुधारिने मौका र सहानुभूति दिनुपर्छ। टोल–टोलमा कुलतविरुद्धका सचेतना अभियान चलाउनु समाजको दायित्व हो। युवाहरूलाई संगठित बनाई कुलतविरुद्ध काम गर्न प्रोत्साहन गर्नुपर्छ।
स्थानीय सरकारले वडातहसम्मै खेलकुदका गतिविधिहरू, सिर्जनशील तालिमहरू र निःशुल्क मनोपरामर्श केन्द्रहरूको स्थापना गर्नुपर्छ। बालबालिकाको ऊर्जालाई सही ठाउँमा उपयोग गर्ने वातावरण स्थानीय तहले मिलाउनुपर्छ। राज्यले लागू औषध ओसारपसार र बिक्री–वितरण गर्ने गिरोहमाथि निर्मम भएर कडा कानुनी कारबाही गर्नुपर्छ। साथै, प्रत्येक जिल्लामा सुविधासम्पन्न र वैज्ञानिक पुनरोत्थान गृह (रिह्याब सेन्टर) को व्यवस्था गरी विपन्न वर्गका बालबालिकाको पनि उपचारमा पहुँच पु¥याउनुपर्छ।
आशा अझै बाँकी छ । हामीले नै गर्ने हो सुरुवाती कसले के गर्छ? भनेर हेरेर बस्नुभन्दा पनि आफ्नै समाज र समुदायका युवा, बुद्धिजीवी, समाजसेवी सबैको सक्रिय सहभागिता राख्दै लागू औषध दुर्वेशनीमा फसेका व्यक्तिलाई लुकाएर होइन सुधारको प्रयास गरी सुधारेर समाजका लागि उदाहरणीय पात्रका रूपमा उभ्याउन सक्नुपर्छ।
कुलतको अँध्यारो सुरुङ जतिसुकै लामो र डरलाग्दो भए पनि त्यसको अन्त्यमा उज्यालो अवश्य हुन्छ। दुव्र्यसनमा फसेका बालबालिकाहरू खराब होइनन्, उनीहरू त केवल गलत परिस्थितिका सिकार भएका हुन्। उनीहरूलाई सजाय होइन, सहायताको खाँचो छ; घृणा होइन, मायाको आवश्यकता छ। जब घरमा आत्मीय वातावरण बन्छ, समाजले सहयोगको हात बढाउँछ र राज्यले दह्रो अभिभावकत्व ग्रहण गर्छ, तब जस्तोसुकै कुलतको दलदलबाट पनि हाम्रा बालबालिकालाई सुरक्षित बाहिर निकाल्न सकिन्छ। आजैबाट प्रण गरौँ आफ्ना सन्ततीलाई समय दिऔँ, उनीहरूका कुरा सुनौँ र कुलतमुक्त समाज निर्माणमा आफ्नो तर्फबाट एउटा इँटा थपौँ।