काठमाडाैं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको साढे पाँच महिनापछि भएको स्वदेश आगमनलाई सामान्य राजनीतिक घरफिर्तीका रूपमा मात्र हेर्न मिल्दैन । उनको आगमनसँगै नेपाली कांग्रेसभित्रको वैधानिकता विवाद, गगन थापा नेतृत्वको नयाँ संरचना र देउवा पक्षको राजनीतिक भविष्य फेरि बहसको केन्द्रमा आएको छ ।
अझ रोचक कुरा के छ भने, स्वदेश फर्किएलगत्तै देउवाले दिएको वक्तव्य र सार्वजनिक मन्तव्यको भाषाशैलीमा देखिएको अन्तरले उनको आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण संकेत दिएको छ । देउवाको लिखित वक्तव्य हेर्दा उनी बदलिएको देखिन्छन् । उनले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन् । विभाजन र विद्वेषको घाउ निको पार्नुपर्ने, प्रतिशोधको बाटो छाडेर मेलमिलाप रोज्नुपर्ने र युवालाई अघि बढाउनुपर्ने उनको भनाइ छ । यस्तो भाषाले देउवा अब प्रत्यक्ष सत्ता संघर्षभन्दा पार्टीभित्र सहमति र समन्वयको बाटो रोज्न चाहन्छन् भन्ने सन्देश दिन्छ ।
तर चुनदेवीमा उनले दिएको मन्तव्यले त्यही सन्देशलाई चुनौती दियो । त्यहाँ देउवा नरम देखिएनन् । आफूविरुद्ध षड्यन्त्र भएको, विगतमा पनि अदालतबाट न्याय पाएको र अहिले पनि न्याय पाउने विश्वास रहेको भन्दै उनले प्रतिरोधको मनोविज्ञान प्रस्तुत गरे । ‘राजा ज्ञानेन्द्रले त सकेनन्, यिनीहरूले सक्छन् ?’ भन्ने उनको प्रश्न सामान्य राजनीतिक टिप्पणीभन्दा बढी थियो । यसले आफूलाई राजनीतिक रूपमा समाप्त पार्ने प्रयास स्वीकार्य नहुने र आवश्यक परे संघर्षमा उत्रिने संकेत दिएको छ ।
यसैले देउवाको वक्तव्य मेलमिलापको भाषा हो भने मन्तव्य प्रतिरोधको संकेत हो । बाहिरबाट हेर्दा यी दुईबीच विरोधाभास देखिए पनि राजनीतिक दृष्टिले दुवैको आफ्नै अर्थ छ ।
देउवालाई अहिले तत्काल पार्टी सभापतिको पदमा फर्किनुभन्दा आफ्नो राजनीतिक प्रभाव र वैधानिक दाबी जोगाउनु बढी महत्वपूर्ण देखिन्छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कांग्रेसलाई उनले स्वीकार गरिसकेका छैनन् । सर्वोच्च अदालतमा पुनरावलोकनको बाटो खुल्नु उनका लागि राजनीतिक रूपमा महत्वपूर्ण अवसर बनेको छ । त्यसैले अहिले उनी अदालतको निर्णय कुर्दै राजनीतिक आधार बलियो बनाउने रणनीतिमा रहेको देखिन्छ ।
अर्कोतर्फ, गगन थापा नेतृत्वको कांग्रेस पनि देउवाको पुरानो शैली र संरचनाबाट अलग पहिचान बनाउने प्रयासमा छ । विशेष महाधिवेशन स्वयं परिवर्तनको राजनीतिक सन्देश बोकेर आएको थियो । त्यसैले देउवाको पुनरागमनलाई नयाँ कांग्रेसले सहज रूपमा स्वीकार्ने सम्भावना कमजोर छ ।
यहीँबाट कांग्रेसको मूल प्रश्न सुरु हुन्छ-देउवा र गगनबीच संघर्ष बाँकी छ कि संवादको सम्भावना पनि छ ? देउवाको वक्तव्यले संवादको ढोका पूर्ण रूपमा बन्द नभएको संकेत गर्छ । उनले युवाको नेतृत्वलाई अस्वीकार गरेका छैनन् । पाका पुस्तालाई पनि एकैपटक खराब करार नगर्न आग्रह गरेका छन् । यसको अर्थ उनी गगन पुस्तालाई राजनीतिक रूपमा अस्वीकार गर्नेभन्दा आफ्नो पुस्ताको योगदान र अस्तित्वलाई सुरक्षित राख्न चाहन्छन् भन्ने पनि हुन सक्छ ।
तर मन्तव्यमा आएको आक्रामकता हेर्दा त्यो संवाद सहज हुने देखिँदैन । विशेषगरी कांग्रेसको आधिकारिकता र नेतृत्वको प्रश्न अदालतसम्म पुगेको अवस्थामा व्यक्तिगत सम्बन्धभन्दा संस्थागत वैधानिकताको प्रश्न ठूलो बनेको छ । दुवै पक्ष आ–आफ्नो दाबीबाट पछि नहटे संवाद केवल औपचारिकतामा सीमित हुन सक्छ ।
देउवाको अर्को सन्देश सरकारतर्फ पनि लक्षित देखिन्छ । आफूमाथि अनुसन्धान र पक्राउको प्रयास भइरहेको अवस्थामा उनले आफू डराएर राजनीतिक मैदानबाट बाहिर नजाने संकेत गरेका छन् । विदेश बसाइँलाई राजनीतिक निष्क्रियताको अन्त्यका रूपमा प्रस्तुत गर्दै उनले स्वदेश फर्किएपछि आफ्नो राजनीतिक उपस्थिति पुनः स्थापित गर्न खोजेका छन् ।
यस अर्थमा देउवाको पुनरागमन केवल कांग्रेसभित्रको शक्ति संघर्षमा फर्किनु होइन, आफ्नो राजनीतिक अस्तित्व पुनः दाबी गर्नु पनि हो । तर देउवाका लागि चुनौती पनि कम छैन । लामो समय सत्ताको केन्द्रमा रहेका नेताका रूपमा उनीमाथि विगतको शासनशैली, पार्टी सञ्चालन र राजनीतिक संस्कृतिका प्रश्न छन् । नयाँ पुस्ताले उठाएको परिवर्तनको नाराबीच पुरानै शैलीमा फर्किन खोजे उनको राजनीतिक पुनरागमन उल्टै प्रतिकूल हुन सक्छ ।
त्यसैले देउवाले अब कुन बाटो रोज्छन् भन्ने महत्वपूर्ण हुनेछ । यदि वक्तव्यमा भनेजस्तै मेलमिलाप, संवाद र पुस्तान्तरणलाई स्वीकार गर्छन् भने उनी कांग्रेसको संक्रमणकालीन राजनीतिमा अभिभावकीय भूमिका लिन सक्छन् । तर मन्तव्यमा देखिएको प्रतिरोधलाई नै राजनीतिक रणनीतिको मुख्य आधार बनाउँछन् भने कांग्रेसको विवाद अझ लामो र तिक्त बन्न सक्छ ।
अहिलेको कांग्रेसमा समस्या केवल देउवा बनाम गगन होइन । यो पुरानो नेतृत्व र नयाँ राजनीतिक संस्कृतिबीचको संक्रमण पनि हो । देउवा आफ्नो योगदान र राजनीतिक अस्तित्वको सम्मान खोजिरहेका छन् भने गगन नेतृत्व परिवर्तनको वैधानिकता र नयाँ कांग्रेसको पहिचान स्थापित गर्न खोजिरहेका छन् । त्यसैले देउवाको सन्देशलाई एक वाक्यमा बुझ्ने हो भने-‘म पदका लागि फर्किएको होइन, तर मलाई विस्थापित गरेर राजनीतिक रूपमा समाप्त पार्न खोजिन्छ भने चुप लागेर पनि बस्दिनँ ।’
यही दोहोरो सन्देशले कांग्रेसको आगामी बाटो निर्धारण गर्नेछ । वक्तव्यले संवादको सम्भावना देखाएको छ, मन्तव्यले संघर्षको ढोका खुलै राखेको छ । अब प्रश्न देउवा मात्रको होइन, गगन नेतृत्वको कांग्रेसले पनि कुन भाषा रोज्छ भन्ने हो । कांग्रेसमा पुस्तान्तरण अपरिहार्य हुन सक्छ, तर पुस्तान्तरणको अर्थ अघिल्लो पुस्ताको पूर्ण निषेध होइन । त्यसैगरी पुरानो नेतृत्वको अनुभवको सम्मान गर्नु भनेको परिवर्तनको म्यान्डेट अस्वीकार गर्नु पनि होइन ।
देउवा र गगनबीचको आगामी सम्बन्ध यही सन्तुलनमा निर्भर हुनेछ-संघर्षले कांग्रेसलाई थप विभाजित गर्छ कि संवादले नयाँ सहमतिको आधार तयार गर्छ ? अहिलेको देउवाको वक्तव्य र मन्तव्यले दुवै सम्भावनाको ढोका खुला राखेको छ ।