काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह परिवारसहित तीन दिनका लागि पोखरा हुँदै मुस्ताङ पुगे, मुक्तिनाथमा पूजा गरे र आइतबार पोखरा फर्किए । सोमबार काठमाडौं फर्किने कार्यक्रम छ ।
सामान्य अवस्थामा यो एउटा प्रधानमन्त्रीको निजी तथा पारिवारिक भ्रमणको समाचारभन्दा बढी केही नहुन सक्थ्यो । तर बालेन शाहको यो भ्रमण सामान्य रहेन । भ्रमण सकिन नपाउँदै यसको उद्देश्य, पारदर्शिता, सुरक्षा व्यवस्थादेखि मुस्ताङ रोज्नुको कारणसम्म प्रश्नको घेरामा परेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरुमै भ्रमणलाई ‘निजी’ भन्यो । तर त्यही निजी भ्रमणको सूचना प्रधानमन्त्रीको आफ्नै सचिवालयले पर्याप्त रूपमा सार्वजनिक गरेन । उल्टो, प्रधानमन्त्री कहाँ जाँदै छन्, कुन बाटोबाट जाँदै छन् र को–को साथमा छन् भन्ने सामान्य जानकारीसमेत सुरक्षा कारण देखाउँदै लुकाइयो । यता प्रधानमन्त्री सडकमार्ग हुँदै पोखरा पुगेको दृश्य सार्वजनिक भइसकेको थियो ।
यही विरोधाभासले पहिलो प्रश्न जन्मायो–यदि भ्रमण पूर्णतः निजी हो भने सूचना लुकाउनुपर्ने कारण के थियो ? प्रधानमन्त्री शुक्रबार काठमाडौं छाडेर सडकमार्ग हुँदै पोखरा पुगेपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा परिवारसहित बसे । त्यसपछि शनिबार सडकमार्ग हुँदै मुस्ताङ पुगे र साँझ करिब ७ः३० बजे मुक्तिनाथ मन्दिर प्रवेश गरी पूजा गरे ।
यहाँसम्म हेर्दा यो व्यक्तिगत धार्मिक तथा पारिवारिक भ्रमण नै देखिन्छ । तर प्रधानमन्त्री निजी यात्रामा निस्किए पनि उनको सुरक्षा निजी हुँदैन । प्रधानमन्त्री जहाँ पुग्छन्, त्यहाँ सुरक्षा निकाय, स्थानीय प्रशासन र राज्यको संयन्त्र स्वतः परिचालित हुन्छ । मुस्ताङमा उनको आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको थियो । त्यसैले ‘निजी भ्रमण’ भन्ने शब्दले राज्यको जिम्मेवारी र सार्वजनिक चासोलाई पूर्णतः अलग गर्न सक्दैन ।
जनातको प्रश्न पनि यही हो–प्रधानमन्त्रीको निजी समयको सम्मान हुनुपर्छ, तर प्रधानमन्त्रीको निजी भ्रमणमा परिचालित राज्य संयन्त्रको जवाफदेहिता कहाँसम्म हुन्छ ? यही कारणले भ्रमण आलोचनाको विषय बन्यो । दोस्रो रहस्यमा प्रशासनलाई समेत किन थाहा थिएन ? यो भ्रमण विवादित बन्नुको सबैभन्दा ठूलो कारणमध्ये एउटा सूचना व्यवस्थापन हो । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्री आउने सूचना सञ्चारमाध्यमबाट थाहा पाएको बताएकी थिइन् । औपचारिक भ्रमण तालिका वा कार्यक्रम प्रशासनमा नआएको उनको भनाइ सार्वजनिक भयो ।
सुरक्षाका कारण प्रधानमन्त्रीको यात्राको सम्पूर्ण विवरण सार्वजनिक नगर्नु स्वाभाविक हुन सक्छ । तर सुरक्षा र प्रशासनिक समन्वय एउटै कुरा होइनन् । प्रधानमन्त्रीको सम्भावित आगमनबारे स्थानीय प्रशासनलाई आवश्यक जानकारी नदिनु वा अन्तिम समयसम्म अस्पष्ट राख्नुले राज्य संयन्त्रभित्रको समन्वयमाथि प्रश्न उठाउँछ । त्यसैले अहिले विवादको मूल प्रश्न प्रधानमन्त्री मुक्तिनाथ गए कि गएनन् भन्ने होइन । प्रश्न हो–प्रधानमन्त्रीको सचिवालय, सुरक्षा संयन्त्र र स्थानीय प्रशासनबीच सूचना प्रवाहको प्रणाली कस्तो छ ? तेस्रो कारण मुस्ताङ किन ? भन्ने थियो ।
नेपालका सबै जिल्लामध्ये प्रधानमन्त्रीले पहिलो स्वदेश भ्रमणका लागि मुस्ताङ रोज्नुले पनि कौतूहल बढाएको छ । मुस्ताङ सामान्य पर्यटकीय जिल्ला मात्र होइन । यो चीनसँग जोडिएको उत्तरी सीमाक्षेत्र हो । यहाँ धार्मिक, सांस्कृतिक, पर्यटन र रणनीतिक महत्व एकै ठाउँमा जोडिन्छ । यही कारण प्रधानमन्त्रीको मुस्ताङ यात्रा स्वाभाविक रूपमा राष्ट्रिय चासोको विषय बन्न पुग्यो ।
तर यसलाई आधार बनाएर प्रधानमन्त्री कुनै विदेशी प्रतिनिधि भेट्न गए, कुनै गोप्य कूटनीतिक वार्ता गरे वा अन्य रणनीतिक उद्देश्य थियो भनेर निष्कर्ष निकाल्नु अहिलेसम्म उपलब्ध तथ्यबाट सम्भव छैन । त्यस्तो भेटघाट भएको प्रमाण सार्वजनिक भएको छैन । बरु सार्वजनिक रूपमा पुष्टि भएको गतिविधि मुक्तिनाथ दर्शन नै हो । यद्यपि सरकारले नै भ्रमणलाई अत्यधिक अस्पष्ट बनाएपछि अनुमानको ठाउँ भने उसैले बनाएको हो ।
सूचना खाली भयो भने अफवाहले त्यो ठाउँ भर्छ । चौथो प्रश्नमा प्रधानमन्त्रीको ‘गोपनीयता’ कि सरकारको ‘अपारदर्शिता’ ? भन्ने उब्जिएको छ । बालेनको राजनीतिक शैलीको एउटा विशेषता हो–परम्परागत राजनीतिक औपचारिकताभन्दा फरक देखिन खोज्नु । आफैं गाडी चलाएर यात्रा गर्ने, परिवारसँग सामान्य शैलीमा हिँड्ने र सार्वजनिक जीवनमा फरक छवि निर्माण गर्ने उनको प्रयास नयाँ होइन ।
यसपटक पनि उनी सडकमार्गबाटै मुस्ताङ पुगे । कतिपय रिपोर्टअनुसार सुरुमा हेलिकप्टर प्रयोग गर्ने चर्चा भए पनि अन्ततः स्थलमार्ग रोजिएको थियो । समर्थकका लागि यो ‘साधारण प्रधानमन्त्री’ को छवि हुन सक्छ । आलोचकका लागि भने यही यात्रामा सरकारी सुरक्षा र सवारी साधनको प्रयोगसँगै ‘निजी’ शब्दको अर्थमाथि प्रश्न उठ्छ । तर यहाँ एउटा सन्तुलित कुरा पनि बिर्सन मिल्दैन ।
प्रधानमन्त्री भए भन्दैमा मानिसको व्यक्तिगत जीवन समाप्त हुँदैन । परिवारसँग घुम्ने, आराम गर्ने, धार्मिकस्थल जाने वा केही दिन कामबाट टाढा बस्ने अधिकार प्रधानमन्त्रीलाई पनि हुन्छ । प्रधानमन्त्रीलाई चौबीसै घण्टा सरकारी कार्यक्रममा बाँधेर राख्नु लोकतान्त्रिक अपेक्षा होइन । समस्या निजी भ्रमणमा होइन । समस्या निजी भ्रमणलाई अनावश्यक रूपमा रहस्यमय बनाउने शैलीमा हो ।
बालेन प्रधानमन्त्री बनेपछि उनको हरेक गतिविधिले असाधारण सार्वजनिक चासो पाउँदै आएको छ । यस्तो अवस्थामा सचिवालयले सामान्य सूचना पनि नदिँदा त्यसले चासो घटाउने होइन, झन् बढाउने गर्छ । यसपटक त्यही भयो । पहिले पोखरा जाने खबर आयो । त्यसपछि अस्ताममा बस्ने कुरा बाहिरियो । त्यसपछि मुस्ताङ जाने सूचना सार्वजनिक भयो । तर आधिकारिक कार्यक्रम थिएन । स्थानीय प्रशासनलाई पनि पूर्ण जानकारी थिएन । प्रधानमन्त्रीको टोलीमा को–को छन् भन्ने स्पष्ट थिएन । अनि अन्ततः मुक्तिनाथ दर्शनको तस्वीर र समाचार सार्वजनिक भयो । यसरी घटनाक्रम अगाडि बढ्दा प्रश्न जन्मिनु स्वाभाविक थियो ।
प्रधानमन्त्रीको सचिवालयले सूचना नियन्त्रण गर्न खोज्दा अन्ततः सूचनाको अभाव नै सबैभन्दा ठूलो सूचना बन्न पुग्यो । प्रधानमन्त्री बसेको अस्तामस्थित अन्नपूर्ण इकोभिलेज पनि चर्चाको कारण बन्यो । यही रिसोर्टमा एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बसेका थिए । बालेन त्यही स्थानमा पुग्दा स्थानीय स्तरमा समेत यसको चर्चा भयो । यो आफैंमा कुनै राजनीतिक सम्बन्ध वा उद्देश्यको प्रमाण होइन । तर प्रधानमन्त्रीजस्तो व्यक्तिले रोजेको स्थानले स्वाभाविक रूपमा चर्चा पाउनु अस्वाभाविक होइन ।
बरु यसबाट एउटा फरक प्रश्न उठ्छ–प्रधानमन्त्रीको निजी भ्रमणका लागि निजी क्षेत्रका रिसोर्ट रोज्दा त्यसको छनोट, सुरक्षा व्यवस्था र खर्च कसरी व्यवस्थापन हुन्छ ? यस्ता प्रश्नको उत्तर सरकारले पारदर्शी रूपमा दिन सके भ्रमण विवादको ठूलो हिस्सा आफैं समाप्त हुन सक्छ । बालेनको भ्रमणलाई नकारात्मक कोणबाट मात्रै हेर्नुपर्ने कारण पनि छैन ।
प्रधानमन्त्री आफैं सडकमार्ग हुँदै मुस्ताङ पुग्नुले बेनी–जोमसोम सडकको वास्तविक अवस्था प्रत्यक्ष अनुभव गर्ने अवसर पनि दिएको हुन सक्छ । मुस्ताङको पर्यटन, सडक पूर्वाधार र स्थानीय अर्थतन्त्रका लागि प्रधानमन्त्रीको उपस्थितिले सकारात्मक सन्देश दिन सक्छ । स्थानीय स्तरमा उनको भ्रमणप्रति उत्साह पनि देखिएको छ । केही स्थानीयले प्रधानमन्त्रीको आगमनलाई पर्यटन प्रवर्द्धनका हिसाबले सकारात्मक मानेका छन् । अर्थात्, भ्रमणको सकारात्मक अर्थ निकाल्ने आधार पनि छन् । तर समस्या के भयो भने सरकारले त्यसलाई सकारात्मक सार्वजनिक सन्देशमा रूपान्तरण गर्न सकेन ।
धार्मिक आस्था कि राजनीतिक सन्देश
प्रधानमन्त्रीले मुक्तिनाथमा पूजा गरे । नेपालको राजनीतिमा प्रधानमन्त्रीले धार्मिकस्थलमा पूजा गर्नु नयाँ कुरा होइन । यसलाई व्यक्तिगत आस्था वा पारिवारिक धार्मिक यात्राका रूपमा बुझ्न सकिन्छ । तर बालेनको सन्दर्भमा यो दृश्य पनि राजनीतिक बहसबाट अलग रहन सकेन । किनभने प्रधानमन्त्रीको भ्रमणलाई सुरुदेखि नै गोप्य राखिएको थियो । त्यसपछि संवेदनशील भूगोलको मुस्ताङ, अन्ततः मुक्तिनाथ दर्शन–यी सबै घटनाक्रम एकै ठाउँमा जोडिएपछि मानिसहरूले आफ्ना–आफ्ना व्याख्या गर्न थाले । तर प्रमाण नभएको ठाउँमा निष्कर्ष निकाल्नु पत्रकारिताको बाटो होइन ।
अहिलेसम्म पुष्टि भएको तथ्य यत्ति हो—प्रधानमन्त्री निजी पारिवारिक भ्रमणमा पोखरा हुँदै मुस्ताङ गए, मुक्तिनाथ दर्शन गरे र फर्किए । त्यसपछिको राजनीतिक तथा रणनीतिक उद्देश्यबारे भने सरकारले थप स्पष्ट पार्नुपर्ने प्रश्नहरू बाँकी छन् । विवादको असली रहस्य के हो ? यो यात्राको सबैभन्दा ठूलो ‘रहस्य’ सायद प्रधानमन्त्री कहाँ गए भन्ने होइन । रहस्य त सरकारले किन यति धेरै कुरा लुकायो भन्ने हो । यदि साँच्चै निजी पारिवारिक भ्रमण मात्र थियो भने सुरुमै यति भन्न सकिन्थ्यो–प्रधानमन्त्री परिवारसहित निजी भ्रमणमा पोखरा र मुस्ताङ जाँदै हुनुहुन्छ, कुनै सरकारी कार्यक्रम छैन ।’
त्यसपछि सुरक्षा कारणले बाटो, समय र होटलको सम्पूर्ण विवरण सार्वजनिक नगर्न सकिन्थ्यो । यसले सुरक्षा पनि जोगाउँथ्यो, सार्वजनिक विश्वास पनि । तर यहाँ भएको उल्टो भयो । सचिवालय मौन रह्यो, प्रशासनले सञ्चारमाध्यमबाट सूचना पायो, सुरक्षा कारण देखाउँदै सामान्य सूचना रोकियो र अन्ततः सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले अनुमानको बजार ततायो । यही कारण निजी भ्रमण सार्वजनिक विवादमा परिणत भयो । बालेनले यस घटनाबाट एउटा महत्वपूर्ण पाठ लिन सक्छन् । लोकतन्त्रमा पारदर्शिता भनेको प्रधानमन्त्रीको निजी जीवन सार्वजनिक गर्नु होइन । सार्वजनिक पदसँग जोडिएका विषयमा अनावश्यक रहस्य नबनाउनु हो । प्रधानमन्त्रीले आफ्नो निजी जीवन जोगाउन पाउनुपर्छ । तर प्रधानमन्त्रीको सुरक्षा, सरकारी स्रोतको प्रयोग, प्रशासनिक समन्वय र संवेदनशील भूगोलसँग जोडिएको भ्रमणबारे आवश्यक सूचना जनतालाई दिनुपर्छ ।
विशेषगरी मुस्ताङजस्तो सीमावर्ती र रणनीतिक महत्वको क्षेत्रमा प्रधानमन्त्री जाँदा भ्रमणको प्रकृति स्पष्ट पार्नु सरकारकै हितमा हुन्छ । किनकि बालेनको राजनीतिक पूँजी नै अरूभन्दा फरक हुने दाबीमा बनेको हो । पुरानो राजनीतिक शैलीभन्दा नयाँ, बन्द कोठाभन्दा खुला सूचना र भाषणभन्दा काम । त्यसैले उनको सरकारबाट जनताको अपेक्षा पनि त्यहीअनुसार छ ।
बालेनको मुस्ताङ यात्रा विवादित हुनुको कारण उनी मुस्ताङ गएको होइनन् । उनी प्रधानमन्त्री भएर पनि त्यो यात्रा ‘निजी’ भन्दै कति हदसम्म गोप्य राख्न खोजियो भन्ने हो । र अन्ततः यो यात्राले एउटा गम्भीर राजनीतिक सन्देश छाडेको छ । प्रधानमन्त्रीको निजी जीवन निजी हुन सक्छ, तर प्रधानमन्त्रीको पद निजी हुन सक्दैन । त्यसैले अब प्रश्न ‘बालेन मुस्ताङ किन गए ?’ भन्दा पनि ठूलो छ– ‘सरकारले जनतालाई के बताउन बाँकी राख्यो ?’ यसको उत्तर स्पष्ट र प्रमाणसहित आउँदा भ्रमणमाथिका धेरै आशंका आफैं समाप्त हुनेछन् । तर मौनता जारी रह्यो भने मुस्ताङको यात्रा सकिए पनि त्यसबाट जन्मिएको राजनीतिक कथा भने अझै लामो समय चलिरहनेछ ।