Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? धार्मिक आस्था कि राजनीतिक सन्देश
विदुर कटुवाल
विदुर कटुवाल सोमबार, भदौ ८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह परिवारसहित तीन दिनका लागि पोखरा हुँदै मुस्ताङ पुगे, मुक्तिनाथमा पूजा गरे र आइतबार पोखरा फर्किए । सोमबार काठमाडौं फर्किने कार्यक्रम छ । 

सामान्य अवस्थामा यो एउटा प्रधानमन्त्रीको निजी तथा पारिवारिक भ्रमणको समाचारभन्दा बढी केही नहुन सक्थ्यो । तर बालेन शाहको यो भ्रमण सामान्य रहेन । भ्रमण सकिन नपाउँदै यसको उद्देश्य, पारदर्शिता, सुरक्षा व्यवस्थादेखि मुस्ताङ रोज्नुको कारणसम्म प्रश्नको घेरामा परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरुमै भ्रमणलाई ‘निजी’ भन्यो । तर त्यही निजी भ्रमणको सूचना प्रधानमन्त्रीको आफ्नै सचिवालयले पर्याप्त रूपमा सार्वजनिक गरेन । उल्टो, प्रधानमन्त्री कहाँ जाँदै छन्, कुन बाटोबाट जाँदै छन् र को–को साथमा छन् भन्ने सामान्य जानकारीसमेत सुरक्षा कारण देखाउँदै लुकाइयो । यता प्रधानमन्त्री सडकमार्ग हुँदै पोखरा पुगेको दृश्य सार्वजनिक भइसकेको थियो ।

यही विरोधाभासले पहिलो प्रश्न जन्मायो–यदि भ्रमण पूर्णतः निजी हो भने सूचना लुकाउनुपर्ने कारण के थियो ? प्रधानमन्त्री शुक्रबार काठमाडौं छाडेर सडकमार्ग हुँदै पोखरा पुगेपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा परिवारसहित बसे । त्यसपछि शनिबार सडकमार्ग हुँदै मुस्ताङ पुगे र साँझ करिब ७ः३० बजे मुक्तिनाथ मन्दिर प्रवेश गरी पूजा गरे ।

यहाँसम्म हेर्दा यो व्यक्तिगत धार्मिक तथा पारिवारिक भ्रमण नै देखिन्छ । तर प्रधानमन्त्री निजी यात्रामा निस्किए पनि उनको सुरक्षा निजी हुँदैन । प्रधानमन्त्री जहाँ पुग्छन्, त्यहाँ सुरक्षा निकाय, स्थानीय प्रशासन र राज्यको संयन्त्र स्वतः परिचालित हुन्छ । मुस्ताङमा उनको आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको थियो । त्यसैले ‘निजी भ्रमण’ भन्ने शब्दले राज्यको जिम्मेवारी र सार्वजनिक चासोलाई पूर्णतः अलग गर्न सक्दैन ।

जनातको प्रश्न पनि यही हो–प्रधानमन्त्रीको निजी समयको सम्मान हुनुपर्छ, तर प्रधानमन्त्रीको निजी भ्रमणमा परिचालित राज्य संयन्त्रको जवाफदेहिता कहाँसम्म हुन्छ ? यही कारणले भ्रमण आलोचनाको विषय बन्यो । दोस्रो रहस्यमा प्रशासनलाई समेत किन थाहा थिएन ? यो भ्रमण विवादित बन्नुको सबैभन्दा ठूलो कारणमध्ये एउटा सूचना व्यवस्थापन हो । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्री आउने सूचना सञ्चारमाध्यमबाट थाहा पाएको बताएकी थिइन् । औपचारिक भ्रमण तालिका वा कार्यक्रम प्रशासनमा नआएको उनको भनाइ सार्वजनिक भयो ।

सुरक्षाका कारण प्रधानमन्त्रीको यात्राको सम्पूर्ण विवरण सार्वजनिक नगर्नु स्वाभाविक हुन सक्छ ।  तर सुरक्षा र प्रशासनिक समन्वय एउटै कुरा होइनन् । प्रधानमन्त्रीको सम्भावित आगमनबारे स्थानीय प्रशासनलाई आवश्यक जानकारी नदिनु वा अन्तिम समयसम्म अस्पष्ट राख्नुले राज्य संयन्त्रभित्रको समन्वयमाथि प्रश्न उठाउँछ । त्यसैले अहिले विवादको मूल प्रश्न प्रधानमन्त्री मुक्तिनाथ गए कि गएनन् भन्ने होइन । प्रश्न हो–प्रधानमन्त्रीको सचिवालय, सुरक्षा संयन्त्र र स्थानीय प्रशासनबीच सूचना प्रवाहको प्रणाली कस्तो छ ? तेस्रो कारण मुस्ताङ किन ? भन्ने थियो । 

नेपालका सबै जिल्लामध्ये प्रधानमन्त्रीले पहिलो स्वदेश भ्रमणका लागि मुस्ताङ रोज्नुले पनि कौतूहल बढाएको छ । मुस्ताङ सामान्य पर्यटकीय जिल्ला मात्र होइन । यो चीनसँग जोडिएको उत्तरी सीमाक्षेत्र हो । यहाँ धार्मिक, सांस्कृतिक, पर्यटन र रणनीतिक महत्व एकै ठाउँमा जोडिन्छ । यही कारण प्रधानमन्त्रीको मुस्ताङ यात्रा स्वाभाविक रूपमा राष्ट्रिय चासोको विषय बन्न पुग्यो ।

तर यसलाई आधार बनाएर प्रधानमन्त्री कुनै विदेशी प्रतिनिधि भेट्न गए, कुनै गोप्य कूटनीतिक वार्ता गरे वा अन्य रणनीतिक उद्देश्य थियो भनेर निष्कर्ष निकाल्नु अहिलेसम्म उपलब्ध तथ्यबाट सम्भव छैन । त्यस्तो भेटघाट भएको प्रमाण सार्वजनिक भएको छैन । बरु सार्वजनिक रूपमा पुष्टि भएको गतिविधि मुक्तिनाथ दर्शन नै हो । यद्यपि सरकारले नै भ्रमणलाई अत्यधिक अस्पष्ट बनाएपछि अनुमानको ठाउँ भने उसैले बनाएको हो ।

सूचना खाली भयो भने अफवाहले त्यो ठाउँ भर्छ । चौथो प्रश्नमा प्रधानमन्त्रीको ‘गोपनीयता’ कि सरकारको ‘अपारदर्शिता’ ? भन्ने उब्जिएको छ । बालेनको राजनीतिक शैलीको एउटा विशेषता हो–परम्परागत राजनीतिक औपचारिकताभन्दा फरक देखिन खोज्नु । आफैं गाडी चलाएर यात्रा गर्ने, परिवारसँग सामान्य शैलीमा हिँड्ने र सार्वजनिक जीवनमा फरक छवि निर्माण गर्ने उनको प्रयास नयाँ होइन ।

यसपटक पनि उनी सडकमार्गबाटै मुस्ताङ पुगे । कतिपय रिपोर्टअनुसार सुरुमा हेलिकप्टर प्रयोग गर्ने चर्चा भए पनि अन्ततः स्थलमार्ग रोजिएको थियो । समर्थकका लागि यो ‘साधारण प्रधानमन्त्री’ को छवि हुन सक्छ । आलोचकका लागि भने यही यात्रामा सरकारी सुरक्षा र सवारी साधनको प्रयोगसँगै ‘निजी’ शब्दको अर्थमाथि प्रश्न उठ्छ । तर यहाँ एउटा सन्तुलित कुरा पनि बिर्सन मिल्दैन ।

प्रधानमन्त्री भए भन्दैमा मानिसको व्यक्तिगत जीवन समाप्त हुँदैन । परिवारसँग घुम्ने, आराम गर्ने, धार्मिकस्थल जाने वा केही दिन कामबाट टाढा बस्ने अधिकार प्रधानमन्त्रीलाई पनि हुन्छ । प्रधानमन्त्रीलाई चौबीसै घण्टा सरकारी कार्यक्रममा बाँधेर राख्नु लोकतान्त्रिक अपेक्षा होइन । समस्या निजी भ्रमणमा होइन । समस्या निजी भ्रमणलाई अनावश्यक रूपमा रहस्यमय बनाउने शैलीमा हो ।

बालेन प्रधानमन्त्री बनेपछि उनको हरेक गतिविधिले असाधारण सार्वजनिक चासो पाउँदै आएको छ । यस्तो अवस्थामा सचिवालयले सामान्य सूचना पनि नदिँदा त्यसले चासो घटाउने होइन, झन् बढाउने गर्छ । यसपटक त्यही भयो । पहिले पोखरा जाने खबर आयो । त्यसपछि अस्ताममा बस्ने कुरा बाहिरियो । त्यसपछि मुस्ताङ जाने सूचना सार्वजनिक भयो । तर आधिकारिक कार्यक्रम थिएन । स्थानीय प्रशासनलाई पनि पूर्ण जानकारी थिएन । प्रधानमन्त्रीको टोलीमा को–को छन् भन्ने स्पष्ट थिएन । अनि अन्ततः मुक्तिनाथ दर्शनको तस्वीर र समाचार सार्वजनिक भयो । यसरी घटनाक्रम अगाडि बढ्दा प्रश्न जन्मिनु स्वाभाविक थियो ।

प्रधानमन्त्रीको सचिवालयले सूचना नियन्त्रण गर्न खोज्दा अन्ततः सूचनाको अभाव नै सबैभन्दा ठूलो सूचना बन्न पुग्यो । प्रधानमन्त्री बसेको अस्तामस्थित अन्नपूर्ण इकोभिलेज पनि चर्चाको कारण बन्यो । यही रिसोर्टमा एक वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बसेका थिए । बालेन त्यही स्थानमा पुग्दा स्थानीय स्तरमा समेत यसको चर्चा भयो । यो आफैंमा कुनै राजनीतिक सम्बन्ध वा उद्देश्यको प्रमाण होइन । तर प्रधानमन्त्रीजस्तो व्यक्तिले रोजेको स्थानले स्वाभाविक रूपमा चर्चा पाउनु अस्वाभाविक होइन ।

बरु यसबाट एउटा फरक प्रश्न उठ्छ–प्रधानमन्त्रीको निजी भ्रमणका लागि निजी क्षेत्रका रिसोर्ट रोज्दा त्यसको छनोट, सुरक्षा व्यवस्था र खर्च कसरी व्यवस्थापन हुन्छ ? यस्ता प्रश्नको उत्तर सरकारले पारदर्शी रूपमा दिन सके भ्रमण विवादको ठूलो हिस्सा आफैं समाप्त हुन सक्छ । बालेनको भ्रमणलाई नकारात्मक कोणबाट मात्रै हेर्नुपर्ने कारण पनि छैन ।

प्रधानमन्त्री आफैं सडकमार्ग हुँदै मुस्ताङ पुग्नुले बेनी–जोमसोम सडकको वास्तविक अवस्था प्रत्यक्ष अनुभव गर्ने अवसर पनि दिएको हुन सक्छ । मुस्ताङको पर्यटन, सडक पूर्वाधार र स्थानीय अर्थतन्त्रका लागि प्रधानमन्त्रीको उपस्थितिले सकारात्मक सन्देश दिन सक्छ । स्थानीय स्तरमा उनको भ्रमणप्रति उत्साह पनि देखिएको छ । केही स्थानीयले प्रधानमन्त्रीको आगमनलाई पर्यटन प्रवर्द्धनका हिसाबले सकारात्मक मानेका छन् । अर्थात्, भ्रमणको सकारात्मक अर्थ निकाल्ने आधार पनि छन् । तर समस्या के भयो भने सरकारले त्यसलाई सकारात्मक सार्वजनिक सन्देशमा रूपान्तरण गर्न सकेन । 

धार्मिक आस्था कि राजनीतिक सन्देश

प्रधानमन्त्रीले मुक्तिनाथमा पूजा गरे । नेपालको राजनीतिमा प्रधानमन्त्रीले धार्मिकस्थलमा पूजा गर्नु नयाँ कुरा होइन । यसलाई व्यक्तिगत आस्था वा पारिवारिक धार्मिक यात्राका रूपमा बुझ्न सकिन्छ । तर बालेनको सन्दर्भमा यो दृश्य पनि राजनीतिक बहसबाट अलग रहन सकेन । किनभने प्रधानमन्त्रीको भ्रमणलाई सुरुदेखि नै गोप्य राखिएको थियो । त्यसपछि संवेदनशील भूगोलको मुस्ताङ, अन्ततः मुक्तिनाथ दर्शन–यी सबै घटनाक्रम एकै ठाउँमा जोडिएपछि मानिसहरूले आफ्ना–आफ्ना व्याख्या गर्न थाले । तर प्रमाण नभएको ठाउँमा निष्कर्ष निकाल्नु पत्रकारिताको बाटो होइन ।

अहिलेसम्म पुष्टि भएको तथ्य यत्ति हो—प्रधानमन्त्री निजी पारिवारिक भ्रमणमा पोखरा हुँदै मुस्ताङ गए, मुक्तिनाथ दर्शन गरे र फर्किए । त्यसपछिको राजनीतिक तथा रणनीतिक उद्देश्यबारे भने सरकारले थप स्पष्ट पार्नुपर्ने प्रश्नहरू बाँकी छन् । विवादको असली रहस्य के हो ? यो यात्राको सबैभन्दा ठूलो ‘रहस्य’ सायद प्रधानमन्त्री कहाँ गए भन्ने होइन । रहस्य त सरकारले किन यति धेरै कुरा लुकायो भन्ने हो । यदि साँच्चै निजी पारिवारिक भ्रमण मात्र थियो भने सुरुमै यति भन्न सकिन्थ्यो–प्रधानमन्त्री परिवारसहित निजी भ्रमणमा पोखरा र मुस्ताङ जाँदै हुनुहुन्छ, कुनै सरकारी कार्यक्रम छैन ।’

त्यसपछि सुरक्षा कारणले बाटो, समय र होटलको सम्पूर्ण विवरण सार्वजनिक नगर्न सकिन्थ्यो । यसले सुरक्षा पनि जोगाउँथ्यो, सार्वजनिक विश्वास पनि । तर यहाँ भएको उल्टो भयो । सचिवालय मौन रह्यो, प्रशासनले सञ्चारमाध्यमबाट सूचना पायो, सुरक्षा कारण देखाउँदै सामान्य सूचना रोकियो र अन्ततः सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले अनुमानको बजार ततायो । यही कारण निजी भ्रमण सार्वजनिक विवादमा परिणत भयो । बालेनले यस घटनाबाट एउटा महत्वपूर्ण पाठ लिन सक्छन् । लोकतन्त्रमा पारदर्शिता भनेको प्रधानमन्त्रीको निजी जीवन सार्वजनिक गर्नु होइन । सार्वजनिक पदसँग जोडिएका विषयमा अनावश्यक रहस्य नबनाउनु हो । प्रधानमन्त्रीले आफ्नो निजी जीवन जोगाउन पाउनुपर्छ । तर प्रधानमन्त्रीको सुरक्षा, सरकारी स्रोतको प्रयोग, प्रशासनिक समन्वय र संवेदनशील भूगोलसँग जोडिएको भ्रमणबारे आवश्यक सूचना जनतालाई दिनुपर्छ ।

विशेषगरी मुस्ताङजस्तो सीमावर्ती र रणनीतिक महत्वको क्षेत्रमा प्रधानमन्त्री जाँदा भ्रमणको प्रकृति स्पष्ट पार्नु सरकारकै हितमा हुन्छ । किनकि बालेनको राजनीतिक पूँजी नै अरूभन्दा फरक हुने दाबीमा बनेको हो । पुरानो राजनीतिक शैलीभन्दा नयाँ, बन्द कोठाभन्दा खुला सूचना र भाषणभन्दा काम । त्यसैले उनको सरकारबाट जनताको अपेक्षा पनि त्यहीअनुसार छ । 

बालेनको मुस्ताङ यात्रा विवादित हुनुको कारण उनी मुस्ताङ गएको होइनन् । उनी प्रधानमन्त्री भएर पनि त्यो यात्रा ‘निजी’ भन्दै कति हदसम्म गोप्य राख्न खोजियो भन्ने हो । र अन्ततः यो यात्राले एउटा गम्भीर राजनीतिक सन्देश छाडेको छ । प्रधानमन्त्रीको निजी जीवन निजी हुन सक्छ, तर प्रधानमन्त्रीको पद निजी हुन सक्दैन । त्यसैले अब प्रश्न ‘बालेन मुस्ताङ किन गए ?’ भन्दा पनि ठूलो छ– ‘सरकारले जनतालाई के बताउन बाँकी राख्यो ?’ यसको उत्तर स्पष्ट र प्रमाणसहित आउँदा भ्रमणमाथिका धेरै आशंका आफैं समाप्त हुनेछन् । तर मौनता जारी रह्यो भने मुस्ताङको यात्रा सकिए पनि त्यसबाट जन्मिएको राजनीतिक कथा भने अझै लामो समय चलिरहनेछ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो
बदलिन खोजेको कांग्रेसले देखाएको नयाँ बाटो सोमबार, असोज १९, २०८३
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो सोमबार, असोज १९, २०८३
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर
कांग्रेसको महाधिवेशनः दुईतिर फर्किएको पार्टी तितर–वितर आइतबार, असोज १८, २०८३
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ रूम नं १९४
  • नंः ३ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
  • नंः ४ पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला
  • नंः ५ त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्