काठमाडाैं । मानिसले संसारलाई केवल भोग्दैन, त्यसको अर्थ पनि खोज्छ । ऊ आफ्नो वरिपरि गरिबी, विभेद, असमान्ता देख्छ र त्यसको कारण पहिल्याउने प्रयास गर्छ । समाजमा व्याप्त असमानता देख्छ र त्यसलाई प्राकृतिक नियम मान्ने कि सामाजिक संरचनाको उपज, निर्णय गर्छ ।
राज्यसत्ता देख्दा यसले कसको हितको रक्षा गरिरहेको छ भन्ने सोध्छ, र अहोरात्र श्रम गर्दा आफूले सिर्जना गरेको सम्पत्तिमा आफ्नो हिस्सा किन सीमित छ भनेर प्रश्न गर्छ । यिनै गम्भीर मन्थन र जीवन जिउने क्रममा उठ्ने प्रश्नहरूबाट दर्शनको जन्म हुन्छ ।
दर्शन केवल विश्वविद्यालयका चौघेरा, पुस्तकालयका दराज र प्राज्ञिक दार्शनिकहरूको बौद्धिक विलास मात्र होइन । मानिसले संसारलाई जसरी बुझ्छ, त्यसैअनुसार उसले आफ्नो सामाजिक, सांस्कृतिक र राजनीतिक व्यवहार निर्धारण गर्छ । त्यस अर्थमा दर्शन जीवनसँग जीवन्त रूपमा जोडिएको विचार हो । तर यहाँ एउटा असहज र मौलिक प्रश्न उठ्छ–के दर्शन वास्तवमै निष्पक्ष हुन्छ?
जब समाज स्पष्ट रूपमा वर्गीय विभाजनमा जेलिएको छ भने विचार त्यस विभाजनबाट मुक्त रहन सक्छ ? उत्पादनका साधनहरू केही सीमित व्यक्तिको नियन्त्रणमा रहने, राज्यसत्ता निश्चित वर्गीय हितसँग बाँधिने, सम्पत्तिको वितरण चरम असमान हुने र श्रम गर्ने तथा श्रमको फल नियन्त्रण गर्ने वर्गबीच विशाल दूरी रहने समाजमा जन्मिने दर्शन सामाजिक संघर्षबाट निरपेक्ष रहन सक्दैन ।
माक्र्सवादी दृष्टिकोणले यसको स्पष्ट उत्तर दिन्छ । कुनै पनि दर्शन निरपेक्ष र तटस्थ हुन सक्दैन । यसको अर्थ प्रत्येक दार्शनिकले सचेत रूपमा ‘म फलानो वर्गको पक्षमा छु’ भनेर घोषणा गर्छ भन्ने होइन; बरु उसको विचारले विद्यमान सामाजिक सम्बन्धलाई जोगाउँछ कि परिवर्तन गर्छ भन्ने कुरा निर्णायक हुन्छ ।
दर्शनको सामाजिक धरातल र विचार सत्ता
दर्शन शून्यमा वा अन्तरिक्षमा जन्मिँदैन । मानिस जुन समाज, संस्कृति र व्यवस्थामा हुर्कन्छ, त्यही नै उसको चेतना निर्माणको प्रारम्भिक विद्यालय हुन्छ । परिवार, भाषा, धर्म, संस्कार, शिक्षा, अर्थतन्त्र, राजनीति र सञ्चारमाध्यमले मानिसको विश्वदृष्टिकोण निर्माण गरिरहेका हुन्छन् । आदिम साम्यवाद (ढुंगे युग) मा मानिसका जीवनमा निजी सम्पत्तिको अवधारणा र स्थायी वर्गीय विभाजन थिएन, उत्पादन सामूहिक हुन्थ्यो । तर कालान्तरमा उत्पादनका साधनमाथि निजी स्वामित्व विस्तार भएसँगै अतिरिक्त उत्पादनमाथि नियन्त्रण कायम गरियो । यसैबाट समाजमा मालिक र दास, सामन्त र किसान, अनि आधुनिक युगमा पुँजीपति र श्रमिक वर्गको उदय भयो ।
दास युगमा मालिक र दास, सामन्ती समाजमा सामन्त र भूदास, अनि आधुनिक पुँजीवादी समाजमा पुँजीपति र श्रमिकबीचको सम्बन्ध नै सामाजिक संरचनाको केन्द्र बन्यो । उत्पादन सम्बन्ध फेरिँदै जाँदा मानिसको संसार बुझ्ने तरिका पनि बदलियो । त्यसैले कुनै पनि दर्शनलाई बुझ्न उसले ‘के भन्यो ?’ भनेर मात्र पुग्दैन । ‘कुन समयमा भन्यो ?’, ‘कस्तो सामाजिक संरचनामा भन्यो ?’ ‘कुन सामाजिक अन्तर्विरोधलाई सम्बोधन गर्यो ? र त्यस विचारले विद्यमान सम्बन्धलाई बलियो बनायो कि चुनौती दियो ? भन्ने प्रश्न सोध्नु अनिवार्य हुन्छ ।
शासक वर्गले समाजमा शासन कायम राख्न सधैँ बन्दुक, सेना, प्रहरी, अदालत र प्रशासनको मात्र सहारा लिँदैन । राज्यसत्ता टिकाइराख्न मानिसको चेतनामाथिको प्रभाव अझ बढी शक्तिशाली हुन्छ । जब शोषित मानिसले आफू शोषित भइरहेको महसुस गर्नै छाड्छ, तब शोषणको संरचना झन् कडा र स्थायी बन्छ ।
यही कारण विचारसत्ता (विचारधारात्मक प्रभुत्व) कुनै पनि वर्गीय समाजको अदृश्य तर मुख्य शक्ति हो । यदि गरिबीलाई सामाजिक संरचनाको परिणाम नभई व्यक्तिगत असफलता वा आलस्य भनिन्छ भने त्यसले विद्यमान आर्थिक व्यवस्थालाई प्रश्नबाट जोगाउँछ । असमानतालाई भाग्यको खेल भनिन्छ भने असमानता जन्माउने संरचना अदृश्य हुन्छ । सत्तालाई दैवी शक्ति वा ईश्वर वा भगवानको इच्छा भनिन्छ भने शासकलाई प्रश्न गर्नु नै पाप बन्छ । यसरी विचार आफैँमा एउटा शक्तिशाली सत्ता बन्न पुग्छ ।
वर्गीय यथार्थ र भाग्यवाद
नेपाललाई वर्गीय समाज होइन भनेर कसैले दाबी गर्छ भने उसले समाजको बाहिरी सतह मात्र देखेको छ । एकातिर भूमि, पुँजी, व्यवसाय, ठेक्कापट्टा, वित्तीय पहुँच र राजनीतिक शक्तिमा बलियो पकड भएका सीमित एलिट वर्ग छ भने अर्कोतिर दैनिक श्रम गरेर गुजारा चलाउने ठूलो जनसंख्या छ । गाउँमा साना किसान, भूमिहीन र कृषि मजदुर छन । शहरमा निर्माण, यातायात, घरेलु, होटल तथा सेवा क्षेत्रका श्रमिक र असुरक्षित रोजगारीमा निर्भर युवा छन् । लाखौँ नेपाली युवा रोजगारीका लागि मध्यपूर्वी खाडी र अन्य मुलुकमा पसिना बगाउन बाध्य छन् ।
वैदेशिक रोजगारीमा जाने युवाको राहदानी हेर्दा एउटा व्यक्तिको परिचय देखिन्छ, तर नेपालको समग्र अर्थतन्त्रको संरचना हेर्दा त्यहाँ एउटा कहालीलाग्दो वर्गीय कथा लुकेको हुन्छ । देशभित्र उत्पादनशील रोजगारीका अवसर छैनन्, कृषि उपेक्षित छ, उद्योगहरू कमजोर छन् । युवाको श्रम निर्यात हुन्छ, घरमा रेमिट्यान्स भित्रिन्छ र बजारमा उपभोग बढ्छ । तर उत्पादनको आधार झन÷झन् भत्किँदै जान्छ । यो केवल आर्थिक तथ्यांक समस्या होइन, यो हाम्रो समग्र विकास÷दर्शन र राजनीतिक दृष्टिकोणको विफलता हो ।
नेपाली समाजमा ‘भाग्य’ एउटा साधारण शब्द मात्र होइन, यसले सामाजिक चेतनामा गहिरो प्रभाव पारेको छ । ‘भाग्यमा जे लेखेको छ, त्यही हुन्छ’, ‘गरिबी अघिल्लो जन्मको कर्मको फल हो’ वा ‘भाग्य बलियो भए सफल भइन्छ’ भन्ने जस्ता धारणाले व्यक्तिगत जीवनमा सान्त्वना दिए पनि सामाजिक असमानताको व्याख्या गर्दा यसले भयानक रूप लिन्छ । न्यून ज्यालामा अहोरात्र खट्ने मजदुरको श्रमको मूल्य कसरी निर्धारण भयो वा उसले सिर्जना गरेको लाभ कसको पोल्टोमा गयो भनेर प्रश्न गर्नुको साटो जब ‘उसको भाग्य नै यस्तै रहेछ’ भन्ने उत्तर दिइन्छ, तब वास्तविक शोषणको संरचना अदृश्य बन्छ । भाग्यवादको राजनीतिक अर्थ नै यही हो–मानिसभित्र समाज रूपान्तरण गर्न सकिन्छ भन्ने विद्रोही चेतनालाई निस्तेज पारिदिनु ।
धर्म, परम्परा र पुनर्जन्म
धर्मलाई केवल शोषणको औजार भनेर बुझ्नु बौद्धिक एकांगीपना हुन सक्छ, किनकि यो मानिसको आध्यात्मिक खोज, संस्कृति, नैतिकता र सामुदायिक जीवनसँग गाँसिएको हुन्छ । तर इतिहासमा धर्मलाई सत्ताको वैधता जोगाउने माध्यमका रूपमा प्रयोग गरिएको तथ्यलाई नकार्न सकिँदैन । नेपालको इतिहासमा राजतन्त्र र धार्मिक वैधता लामो समयसम्म एकअर्काका परिपूरक बने। राजालाई राजनीतिक शासक मात्र नभई विष्णुको अवतारका रूपमा प्रस्तुत गर्दा सत्तालाई प्रश्न गर्नु धर्म र परम्पराविरुद्धको अपराध मानिन्थ्यो ।
गणतन्त्रको आगमनले सत्ता दैवी अधिकार नभई जनताको सार्वभौम अधिकार हो भन्ने दार्शनिक स्थापित गरेको छ । तर राजतन्त्र हट्दैमा दैवी वैधताको राजनीति पूर्णतः समाप्त भएको छैन । आज पनि जब कुनै नेता आफूलाई ‘जनताको भाग्य विधाता’ वा ‘महान अवतार’ का रूपमा प्रस्तुत गर्छ र आलोचनाभन्दा माथि राख्न खोज्छ, त्यहाँ पुरानो विचारसत्ताकै नयाँ संस्करण प्रकट भइरहेको हुन्छ ।
त्यसैगरी, परम्परा र संस्कृति समाजको स्मृति भए पनि ती स्वतः न्यायपूर्ण हुन्छन् भन्ने छैन । नेपालमा जातीय छुवाछूत, पितृसत्तात्मक उत्पीडन र लिङ्गका आधारमा गरिने विभेदलाई लामो समयसम्म परम्पराको आवरणमा कायमै राखियो । अधिकार र समानता माग्दा ‘संस्कृति र परम्परा भत्काउन खोजेको’ आरोप लगाइयो । तर हजारौँ वर्ष पुरानो हुँदैमा कुनै व्यवस्था न्यायपूर्ण हुँदैन; दासप्रथा र सामन्तवाद पनि शताब्दीयौँ टिकेकै थिए । त्यसैले परम्परालाई संरक्षण गर्नुअघि त्यसले मानिसलाई मुक्त गर्छ कि दास बनाउँछ भनेर प्रश्न गर्नुपर्छ ।
दक्षिण एसियाली समाजमा पुनर्जन्म र परलोक (स्वर्ग वा नर्क) को अवधारणाले पनि सामाजिक असमानतालाई जोगाउन भूमिका खेलेको छ । वर्तमानको गरिबी र उत्पीडनलाई पूर्वजन्मको कर्मको फल मानिदिँदा वर्तमान सामाजिक, आर्थिक र राजनीतिक संरचनामाथि प्रश्न उठ्न छाड्छ । वर्तमान अन्याय सहन र अर्को जन्ममा स्वर्ग वा राम्रो जीवनको आशा गर्न सिकाउनु शासक वर्गका लागि निकै सुविधाजनक हुन्छ । तर भौतिकवादी दृष्टिकोण प्रस्ट छ–बच्चा जन्मँदा उसको बैंक खाता वा सामाजिक हैसियत प्राकृतिक रूपमा तय भएर आएको हुँदैन; समाजको असमान संरचनाले नै उसलाई अवसरबाट वञ्चित गर्छ ।
नयाँ पुँजीवाद र डिजिटल विचारसत्ता
आधुनिक पुँजीवादी समाजमा भाग्यको पुरानो भाषालाई बजारको नयाँ भाषाले प्रतिस्थापन गरेको छ । अब ‘भाग्यमा लेखेको छ’ भन्नुको सट्टा ‘मेहनत गर, सफल हुन्छौ, आफ्नो ब्रान्ड बनाऊ’ वा ‘अवसर सबैलाई बराबर छ भन्ने नवउदारवादी मन्त्र जपाइन्छ । व्यक्तिगत प्रयास र सिर्जनशीलताको महत्व निश्चितै छ, तर समस्या त्यतिबेला सुरु हुन्छ जब संरचनात्मक असमानतालाई पूरै व्यक्तिगत जिम्मेवारी वा असफलतामा ढाँकछोप गरिन्छ ।
सुविधासम्पन्न वातावरण, गुणस्तरीय शिक्षा, पुस्तकालय र पारिवारिक पुँजीका बीच हुर्केको बालक र गरिबीका कारण बाल्यकालदेखि नै मजदुरी गर्न बाध्य बालकलाई एउटै दौडमा खडा गरेर ‘जसले जित्यो ऊ मेहनती, जो हा¥यो ऊ अल्छी’ भन्नु समानताको भ्रम फैलाउनु मात्र हो । यसरी आधुनिक पुँजीवादले संरचनात्मक उत्पीडनलाई व्यक्तिगत दोषमा रूपान्तरण गरिदिन्छ ।
नेपालमा पनि बजारलाई सबै समस्याको सर्वव्यापी औषधि मान्ने प्रवृत्ति हाबी छ । शिक्षा, स्वास्थ्य र उद्योगमा निजीकरणलाई प्रोत्साहन गरिँदैछ । तर बजार आफैँमा निष्पक्ष संस्था होइन । पुँजी हुनेहरू बजारमा ठूलो शक्ति लिएर प्रवेश गर्छन् भने पुँजी नहुनेहरू आफ्नो श्रम सस्तोमा बेच्न बाध्य हुन्छन् ।
यसमा नेपाली राजनीतिको अनौठो विरोधाभास देखिन्छ । राजनीतिक दलहरू समाजवाद, लोकतन्त्र र सामाजिक न्यायको नारा फलाक्छन्, संविधानमा ‘समाजवादउन्मुख’ राज्य लेखिएको छ, तर व्यावहारिक नीतिहरूमा भने नवउदारवादी बजार, व्यापारी र दलाल पुँजीकै हित प्राथमिकतामा पर्छन् । शिक्षा र स्वास्थ्यको तीव्र व्यापारीकरण, कृषि संकट र श्रमको अनियन्त्रित निर्यातले दलहरूको वैचारिक निष्ठामाथि गम्भीर प्रश्न उठाएको छ ।
अझ आधुनिक युगमा वर्गसंर्घष कारखानाको ढोकाबाट विस्तार भएर फेसबुकको टाइमलाइन, युट्युब, टिकटक र डिजिटल एल्गोरिदमसम्म पुगेको छ । कुन मुद्दा भाइरल बनाउने, कुन आवाजलाई स्थापित गर्ने र कसलाई दबाउने भन्ने कुरा सूचना र प्रविधिका मालिकहरूले तय गर्छन् । विगतमा शासक वर्गको हतियार ‘भाग्य’ र ‘दैवी सिद्धान्त’ थियो भने आजको नयाँ विचारसत्ताको हतियार ‘एल्गोरिदम’ र कन्टेनमा बनेको छ ।
निष्कर्ष
दर्शनको वर्गीय चरित्र बुझ्नु भनेको कुनै धनी वा पुँजीपति व्यक्तिप्रति घृणा फैलाउनु होइन । वर्गीय विश्लेषणले व्यक्तिको व्यक्तिगत नैतिक चरित्र होइन, समाजमा सम्पत्ति कसरी उत्पादन हुन्छ, उत्पादनका साधन कसको कब्जामा छन्, श्रमको मूल्य कसरी तोकिन्छ र राज्यका नीतिहरूले कसको हित गर्छन् भन्ने सामाजिक सम्बन्धको वस्तुनिष्ठ अध्ययन गर्छ ।
वर्गीय दृष्टिकोणले वैज्ञानिक सत्यलाई नकार्दैन, बरु सत्यसम्म पुग्ने बाटोमा खडा भएका विचारधारात्मक पर्दाहरूलाई हटाउँछ । नेपाल अहिले सामन्तवादका अवशेष, पुँजीवादको विस्तार, नवउदारवादी बजारको प्रभाव र समाजवादको संवैधानिक आकांक्षाका बीच जटिल संक्रमणकालीन अवस्थामा छ । त्यसमा मध्यपंथी विचारा बोकेको राजनीतिक शक्ति सत्तामा छ ।
यस्तो बेला दर्शनलाई केवल क्याम्पसको पाठ्यक्रममा सीमित नराखी जीवन र समाजसँग जोड्नुपर्छ । गरिबीलाई भाग्य मान्ने कि सामाजिक संरचनाको विफलता ? जातीय विभेदलाई परम्परा मान्ने कि सामाजिक अपराध ? राज्यलाई प्रश्नभन्दा माथि राख्ने कि जनताको नियन्त्रणमा ? र श्रमलाई सस्तो वस्तु मान्ने कि समृद्धिको मूल आधार ? यिनै प्रश्नको उत्तरमा हाम्रो वैचारिक स्पष्टता लुकेको छ ।
राज्यसत्ता, सरकार र संविधान बदल्न सकिन्छ, तर मानिसको चेतनामा कायम रहेको अदृश्य विचारसत्ता र पुराना सामाजिक सम्बन्धहरू नबदलेसम्म वास्तविक मुक्ति सम्भव छैन । त्यसैले परिवर्तनको अन्तिम र सबैभन्दा गहिरो संघर्ष केवल सडक वा संसद्मा मात्र हुँदैन । त्यो मानिसको चेतनामा हुन्छ । र, चेतनामार्फत मानिसलाई आफ्नो अधिकार र मुक्तिप्रति सचेत गराउनु नै दर्शनको वास्तविक वर्गसंर्घष हो ।
