Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
बिहीबार, चैत १२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, चैत १२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पर्यटकको रोजाइमा डोल्पा
पर्यटकको रोजाइमा डोल्पा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, कात्तिक १०, २०७८

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो। वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट ३ हजार ६११ मिटर उचाइमा अवस्थित छ। 

तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ। नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ। कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ। हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ। 

शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पनि हो। यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ। नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ। यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन्।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ। यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ। 

काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन्।

निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो शे फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ। ११औँ शताब्दीमा निर्मित शे गुम्बा पनि यहीँ छ। गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ। 

निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाको चाहना अनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको छैन। डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ। सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो।    

तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ। पछिल्लो समय फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्ने गरेको छ। सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो छ। त्यस्तै हवाई मार्गमार्फत गएमा झनै मन लोभ्याउने दृश्य देख्न सकिने पर्यटकहरु बताउँछन्। बास बस्नका लागि ठाउँठाउँमा होटेलहरु निर्माण गर्ने क्रम जारी छ। बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा  पर्यटकलाई लोभ्याउने प्राकृतिक क्षमता छ। डोल्पा मात्र होइन, छिमेकी जिल्लाको समृद्धिको ठूलो आधार ताल बन्न सक्छ। ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र छ। 

कर्णालीमा रहेका पर्यटकीय क्षेत्रहरुको विकास, समृद्धि र संसारलाई आकर्षित गर्नसक्ने क्षमता भए पनि राज्यले ध्यान नदिँदा यहाँको हीरा पनि किराका रुपमा परिणत हुनु परेको कर्णालीवासीको गुनासो छ। राज्यको लगानी तथा भरपर्दो रुट निर्माणमा ध्यान नदिँदा माल पाएर चाल नपाएझैँ भएको टानका कार्यसमिति सदस्य जितेन्द्र झाँक्री बताउँछन्। निजी क्षेत्रबाट स्थानीयवासीले दुःख गरी निर्माण गरिएका होटेल, घरबास मात्र फोक्सुण्डोमा रहेको छ। याम छोपेर मात्र यहाँका गतिविधिहरु चल्ने भएकाले  स्थानीयवासीलाई समेत दुःख भएको झाँक्रीले बताए।  

छिञ्चु जाजरकोट हुँदै डोल्पासम्म जाने सडकको ट्र्याक खोलेसँगै फोक्सुण्डो ताल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ। अहिले जाजरकोट खण्डमा पुल निर्माणको काम करिब ८० प्रतिशत सकिएको छ भने डोल्पा खण्डमा निर्माण जारी छ। 

जाजरकोट सदरमुकामदेखि १७ किलोमिटरमा रहेको ठूलीभेरी र सानीभेरीका सङ्गमस्थल रिम्नासम्म पिचको काम जारी रहेको छ। त्योभन्दा माथि जाजरकोटको अन्तिम विन्दु तल्लु बगरसम्म पिचका लागि केही दिनमै बोलपत्र आह्वान गर्न लागिएको सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुव झाले बताए।  

जाजरकोटदेखि दुनै सडक ११७ किलोमिटरमा १४ वटा पुल निर्माण गर्ने काम जारी छ। शे–फोक्सुण्डो मात्र नभएर उपल्लो डोल्पामा आन्तरिक पर्यटक बढाउनका लागि भौतिक संरचना निर्माणमा भारी जोड दिनु जरुरी छ। संसारमै लोपोन्मुख हिउँ चितुवासमेत यही निकुञ्ज क्षेत्रमा पाइन्छ। 

अहिले सो ठाउँमा रहेका चारवटा हिउँ चितुवालाई रेडियो कलार जडान गरी अध्ययन थालिएको निकुञ्जले जनाएको छ। प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि निकै धनी छ डोल्पा। डोल्पाको सुन्दर पक्षले जति ख्याति पाएको छ, त्यसअनुसार पर्यटक जान नसक्दा नीति निर्माण तहमा बस्नेलाई सधैँ यस क्षेत्रका जनसाधारणले आक्रोश पोख्दै आएका छन्। सुर्खेतको छिञ्चुदेखि जाजरकोट हुँदै तल्लोबगरसम्म, तल्लोबगरदेखि खदाडसम्म, खदाडदेखि त्रिपुराकोटको कान्तिबजारसम्म र कान्तिबजार हुँदै डोल्पाको सदरमुकाम दुनै सडक मार्गबाट पुग्न सकिन्छ। 

हवाई जहाजबाट जाने हो भने अहिले काठमाडौँदेखि डोल्पाको जुफाल एयरपोर्टसम्म यात्रुको चापअनुसार नेपाजगञ्जदेखि जुफालसम्म हवाई सेवा नियमित छ। जुफालदेखि डोल्पाको सदरमुकासम्म जिपमा एक घण्टा लाग्छ। त्यसपछि फोक्सुण्डो जान पैदल यात्रा तय गर्नुपर्ने हुन्छ। दुनैदेखि तीन दिनको पैदल यात्रापछि फोक्सुण्डो तालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। 

डोल्पा जाने मुख्यद्वारमा बाला त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको एक अङ्ग पतन भएको ठाउँ र दश महाविद्यासमेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ। बाला त्रिपुरासुन्दरी मन्दिरस्थललाई ‘त्रिपुराकोट’ पनि भनिन्छ। यो पुरानो तिब्रिकोट जिल्लाको सदरमुकाम क्षेत्र हो।

यहाँको सुरम्य डाँडको मन्दिर परिसरमा चारैतर्फ सत्तल एवं पार्टी–पौवाहरूले घेरिएको बीचमा भगवतीको मन्दिर छ। मन्दिरको दक्षिणतर्फ रहेको एक प्राकृतिक शिलालाई ‘त्रिपुरादेवी’ भनिँदै आएको छ। यो एउटा भगवतीको भावनात्मक ‘शक्तिपीठ’ हो।

त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र कर्णाली प्रदेशको सबैभन्दा ठूलो त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ। इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ। यसको चारैतिर होचो भू–भाग र दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ छ। यहाँ बीचैमा उठेको थुम्को र त्यसैको थाप्लोमा अडिएको विशाल संरचना छ। करिब सात हजार फिटको उचाइमा यो तीर्थस्थल रहेको छ।

मन्दिर नेपालका परम्परागत मन्दिरभन्दा फरक शैली र आकारको छ। इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ। यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गङ्गा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ।

उत्तरतर्फबाट आउने ताम्रवर्णी, पूर्वबाट आउने सुन्दरी खोला र दक्षिणतर्फबाट झर्ने भैरवी खोलाको सङ्गमस्थल (दोभान) भन्दा अलिकति माथि डाँडाको टुप्पामा बालात्रिपुरासुन्दरी देवीको मन्दिर रहेको छ। यहाँ उत्तर र पूर्वबाट आउने खोलालाई ‘छलगाड’ भन्दछन्। यसै सङ्गमस्थलबाट भेरी नदीको सुरुआत हुन्छ।

धार्मिक मान्यताअनुसार बाला त्रिपुरासुन्दरीबाट उडेर पुतलीरुपी देवीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका ठाउँमा गई त्यहाँ यिनै नामले प्रसिद्ध छन्। 

बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा रहेको धार्मिक विश्वास छ। विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन्। परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन्। यो मन्दिर नेपालमा रहेका त्रिपुरासुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो। ‘त्रिपुरा सुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको अङ्ग पतन भएको ठाउँ र दशमहाविद्या समेत उत्पत्ति भएका कारण मन्दिरको अझ बढी महत्व रहेको इतिहासका जानकार रविप्रसाद न्यौपानेले बताए।  

स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अङ्ग (ढाड) पतन भएको शक्तिपीठका रुपमा यसलाई मानिन्छ। यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ। सतीदेवीको अङ्ग पतन भएपछि शक्ति स्वरुपाका रुपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ती रहेको न्यौपानेले बताए।  

सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेकामा डोल्पाका पनि तीन सम्पदा पर्यटकीय गन्तव्यमा परेका छन्। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी मन्दिर, रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा नयाँ पर्यटकीय गन्तव्यभित्र डोल्पाका तीनवटा सम्पदा परेका थिए।

नेपालकै ठूलो निकुञ्जको रुपमा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, देशकै गहिरो फोक्सुन्डो ताल, सुलिगाड झरना, सयौँ वर्ष पुराना बुद्धमूर्तिहरु रहेको शे–गुम्बा, विश्वको सबैभन्दा अग्लो मानवबस्ती रहेको धो उपत्यका लगायतका चर्चित प्राकृतिक सम्पदा पनि यसै निकुञ्जभित्र पर्दछन्। 

अर्को गन्तव्यको रुपमा हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र त्रिपुरासुन्दरी मन्दिर सूचिकृत भएको थियो। शे–गुम्बा, संसारकै अग्लो मानवबस्ती तिन्जे गाउँ, जगदुल्ला ताल, सुनदह, राजारानी क्षेत्र लगायतका दर्जनौँ चर्चित पर्यटकीय सम्पदाका साथै ५ हजार मिटर भन्दा अग्ला दर्जनौँ हिमाल पनि डोल्पामा पर्दछन्। डोल्पामा सबैभन्दा धेरै फोक्सुण्डोबाट शे गुम्बा हुँदै धो तराप उपत्यका भएर पदयात्रा गर्नेको सङ्ख्या बढी छ। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
एक सातापछि ‘फुल सिलिण्डर’ बजारमा: कृतिम अभाव अन्त्य गर्ने आयल निगमको तयारी
एक सातापछि ‘फुल सिलिण्डर’ बजारमा: कृतिम अभाव अन्त्य गर्ने आयल निगमको तयारी बिहीबार, चैत १२, २०८२
पर्यटककाे गन्तव्य शङ्करबेली सिमसार
पर्यटककाे गन्तव्य शङ्करबेली सिमसार मंगलबार, चैत १०, २०८२
ग्लोबल मनी विक-२०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
ग्लोबल मनी विक-२०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आइतबार, चैत ८, २०८२
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक 
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक  बुधबार, चैत ४, २०८२
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू सोमबार, चैत २, २०८२
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा  बुधबार, फागुन २७, २०८२
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक
शक्तिशाली इञ्जिन र स्मार्ट फिचरसहित पल्सर सार्वजनिक मंगलबार, फागुन २६, २०८२
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच सम्झौता सोमबार, फागुन १८, २०८२
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज शुक्रबार, फागुन ८, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ राजनीतिक नियुक्तिमा विगतको ‘भागबण्डा मोडेल’ विरुद्ध रास्वपा
  • नंः २ जातीय विभेदले पारेको प्रभाव
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ निर्वाचन आयोगलगायत सबै पक्षलाई राष्ट्रपतिद्वारा धन्यवाद  
  • नंः ५ एनआरएनए अध्यक्ष डा हेमराज शर्माको प्रतिबद्धता : "अब संगठनलाई नयाँ उर्जा र दृष्टिकोणकासाथ अगाडि बढाउँने।"
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्