ललितपुर । विसं. २०२७ सालमा गोरखाको आँपपिपल भन्ने गाउँमा जन्मेर उच्च शिक्षा हासिल गरी हाल मानसिक स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक कार्य गर्दै आएको कोशीश नामक गैर सरकारी संस्थामा कार्यकारी निर्देशकका रुपमा काम गर्दै अन्तर्राष्ट्रिय जगतमै मानसिक स्वास्थ्यक्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत अन्तर्राष्ट्रिय पुरस्कारहरु कलंक हटाएको व्यक्ति र अशोका फेलो सन २०१६ बाट पुरस्कृत अत्यन्त सरल, भद्र र मानसिक स्वास्थ्य क्षेत्रमा पर्याप्त ज्ञान हासिल गरिसकेका मात्रिका देवकोटासँग नामी साप्ताहिकका तर्फबाट प्रज्वल घिमिरेले मानसिक स्वास्थ्य क्षेत्रमा केन्द्रित रही लिएको अन्तर्वार्ताको संक्षिप्त अंश यहाँ प्रस्तुत छ :
सामाजिक सेवा भनेको के हो ?
जोखिम परिस्थितिमा रहेकाहरुलाई साथ दिनु नै सामाजिक सेवा हो । एउटा मानिस अप्ठ्यारो परिस्थितिमा हुँदा उसलाई साथ दिनु भनेको मानवीय कर्तव्य पनि हो । त्यहि कर्तव्य नै सामाजिक सेवा हो । अझ यसलाई प्रष्टसँग भन्दा दुर्वल अवस्थामा भएकाहरुलाई अरु सवल व्यक्ति सरह बनाउनु हरेक व्यक्तिको सामाजिक उत्तरदायित्वभित्र पर्दछ । त्यहि उत्तरदायित्वलाई निर्वाह गराउने कर्म नै सामाजिक सेवा हो ।
सामाजिक सेवा गर्ने क्रममा मानसिक स्वास्थ्यकै क्षेत्रलाई चाहिँ किन छान्नु भयो ?
म स्वयम् आफै पनि मानसिक समस्या अनुभव गरेको व्यक्ति भएका कारणले मानसिक समस्या अनुभव गरेकाहरुलाई समाजले गर्ने अपहेलनाको बारेमा मलाई राम्रोसँग जानकारी थियो । त्यसैले म जस्ता अरु धेरै मानिसहरुको पीडालाई भित्रैबाट महसूस गरी तिनको घाउमा मलम् लगाउन मैले यो क्षेत्रलाई छानेको हुँ ।
मानसिक स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारको भूमिका कस्तो देख्नुहुन्छ ?
यो क्षेत्रमा नेपाल सरकारले केही सेवारुपी कामहरुको शुरुवात् गरेतापनि पूर्णरुपले सफल हुने लक्षण देखाएर सरकार अगाडि बढेको म देख्दिन, कार्यान्वयनको पक्ष फितलो भएका कारण सेवाहरु थोपर्ने काम भएको छ तर समस्याबाट प्रभावितहरुको मनोभावना बुझेर जुनरुपले काम हुनुपथ्र्योे त्यो भएको छैन ।
यो क्षेत्रलाई पूर्णरुपले प्रबद्र्धन गर्न राज्यले कस्तो रणनीति अपनाउनु पर्छ ?
व्यक्तिमा भन्दा सामाजिक समस्यामा राज्यले आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । सामाजिकरुपमा भएका गडबडिका कारण व्यक्ति पीडित हुने भएकोले व्यक्तिमा देखिने नकारात्मक लक्षणहरुलाई हटाउनुभन्दा मुलरुपले सामाजिक रुपमा देखिने पीडाहरुको न्यूनिकरणमा राज्य लागि पर्नुपर्छ । तनाव सृजना हुनेखालको सामाजिक लक्षणहरुलाई समाप्त पार्न सकियो भने व्यक्तिको समस्या स्वतः समाप्त हुन्छ । तनाव सिर्जित हुने सामाजिक क्रियाकलापहरु आमरुपले नष्ट हुन सक्यो भने व्यक्ति व्यक्तिवीच स्वतः एकआपसमा हेर्ने दृष्टिकोण नकारात्मकबाट रुपान्तरित भई सकारात्मक दिशातर्फ अघि बढेर दया, माया, करुणा र सद्भावना सबैमा पलाउँछ भन्ने कुरालाई राम्रोसँग चारैतिरबाट महशुस गर्न सकियो भने यो समस्या समाधान गर्न पूर्णरुपले हामी सबै सफल हुन सक्छौं ।
तपाईले यसका लागि पहल गर्नुभएको छ ?
शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । हिंसा नहुने वातावरणको सृजना हुनुपर्छ । मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यलाई बराबरी रुपमा प्राथमिकता दिनुपर्छ भनेर हामीले सम्मानित सर्बोच्च अदालतमा रिट निवेदन दिएका छौं तर फैसला हुन बाँकी छ ।
किन मुद्धाको फैसला चाँडै हुन सकेन नि ?
राजनैतिक मुद्धाहरुको फैसला तुरुन्तै हुने गर्छ यो नागरिक सरोकारको विषयमा फैसला चाँडै हुनुपथ्र्यो तर भइरहेको छैन ।
तपाईँ अन्तर्राष्ट्रिय रुपले नै यो क्षेत्रमा समर्पित भएको नाताले अहिले विश्वमा मानसिक स्वास्थ्य समस्याको समाधानको लागि के कस्तो कार्य भइरहेको देख्नुहुन्छ ?
पहिले विश्वभरि शारीरिक स्वास्थ्यको विषयमा मात्रै कुरा हुने गथ्र्यो तर अहिले शारीरिक स्वास्थ्य लगायत समावेशीकरण र मानवअधिकारलाई समेटेर मानसिक स्वास्थ्यको विषयमा पनि ध्यान दिइनुपर्छ भन्ने धारणा विश्वभरि सबैले महसूस गरेको भान हुन्छ मलाई।
अरु देशको तुलनामा मानसिक स्वास्थ्यको क्षेत्रमा नेपाल कस्तो परिस्थितिमा छ ?
अन्य देशमा चाहिँ मानसिक समस्या अनुभव गरेकाहरुलाई थुन्ने काम धेरै हुन्छ तर नेपालमा चाहिँ उनीहरुलाई पारिवारिक हेरचाह राम्रो देखिन्छ । प्रष्टसँग भन्दा मानसिक समस्या अनुभव गरेकाहरुलाई नेपालमा पारिवारिक सपोर्ट राम्रो छ ।
मानसिक स्वास्थ्यको क्षेत्रमा जनचेतनाको स्तर तिव्ररुपले बढीरहेको देखिन्छ तर पनि यो क्षेत्रमा खासै ठूलो सफलता हासिल गर्न नसक्नुको कारण के देख्नुहुन्छ ?
व्यवहारमा लागू नभएको ज्ञानको केही अर्थ हुँदैन । अन्य व्यक्ति सरह समान आधारमा मानसिक समस्या अनुभव गरेकाहरुलाई मर्यादापूर्वक बाँच्न पाउने व्यवस्था गरिनु पर्छ जुन अहिले व्यवहारमा पर्याप्त मात्रामा लागू भएको देखिदैन।
यो क्षेत्रमा अव तपाईँले नयाँ काम के गर्दै हुनुहुन्छ ?
मानसिक समस्या समाजमा हुने हिंशाका कारण बढ्छ । हिंशामा परेकाहरुलाई साइकोथेरापी गराउँन र गर्नका लागि हामी बढी जोड दिदैछौं र मानसिक समस्या अनुभव गरेकाहरुको भोट हाल्ने अधिकार र कुनैपनि राजनैतिक पद हासिल गर्न सक्ने अधिकारका लागि जनचेतना ल्याउन पहल गरिरहेका छौं । हामीले यो समस्याबाट प्रभावितहरुलाई सशक्तिकरण गर्दै तालिम दिएर उहाँहरुको आवाजलाई बुलन्द पार्न प्रयत्न गर्दैछौ । आगामी दिनहरुमा अझ यी र यस्ता कामहरुमा सक्रियतापूर्वक लागि पर्नेछौं ।
यी र यस्ता कामहरु कार्यान्वयन गर्नमा कोशीश सफल भएको छ त ?
मानसिक समस्या सामाजिक विषय हो भनेर जनचेतना जगाउने काममा हामी केही हदसम्म सफल भएका छौं साथमा यो मनोवैज्ञानिक विषय हो भनेर चारैतिरबाट महसूस गराउन पनि हाम्रो अथक प्रयास जारी छ । जसबाट सकारात्मक परिणामहरु क्रमश हामीले प्राप्त गरिरहेका छौं ।
अन्तिममा कोशीशले गरेको सम्झनयोग्य अरु कामका बारेमा केही भन्न चाहनुहुन्छ ?
मानसिक समस्याबाट प्रभावितहरुलाई सवलीकरण पुनसर््थापना जसमा जीविकोपार्जन पर्दछ भने समावेशीकरणका लागि मानसिक स्वास्थ्य क्षेत्रलाई विकेन्द्रिकृत गर्न कोशीशले पहल गरेको छ र गरिरहने पनि छ भन्न चाहन्छु ।
- नामी साप्ताहिक