काठमाडौं। परम्परा र संस्कृतिलाई उजागर गर्ने र गराउने कार्य गीत–संगीतवाट विभिन्न कालखण्डवाट निरन्तर हुदैआएको छ। यसक्रममा नेपाली आधुनिक संगीतमा अनुपम स्वरको रानी नै मानिएकी अनवरत् गायनकी तपस्वी गायिका देविका बन्दनाले यसलाई पुष्टि गर्ने कार्य भर्खरै सार्वजनिक भएको शुभ–बिबाह गीतवाट गरेकी छन्।
गायिका बन्दनाले यस गीतमा बिबाहमा हुने गरेका नेपाली परम्परागत संस्कृति तथा संस्कारलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य भएको छ। त्यसमाथि, नयाँ पुस्तामा देखिएको हल्दी–मेहन्दी आयातित संस्कारलाई पनि यस गीत मार्फत उजागर गर्ने कार्य भएको छ। गायिका बन्दनाका साथमा दुई गायक प्रताप दास र किरण कँडेलको गायन रहेको यस गीतको भिडियोको कल्पनाकार गायिका बन्दना स्वंयम् हुन्।
यस गीतको भिडियोमा नेपाली चलचित्र उद्योगका तीन जीवित देवीहरु बसुन्धरा भुसाल, भुवन चन्द र चैत्यदेवीको अलावा किरण केसी, दीपाश्री निरौला, निर्मल शर्मा, रोशनी केसी, सम्झना बुढाथोकीको विशेष अभिनय रहेको छ। साथमा विशेष अतिथि कलाकारहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य देखि प्रज्ञा सिंह, महेशमान सिंह, प्रत्युसमान सिंह, दीप तुलाधरसम्मको उपस्थितिले भिडियोलाई गमकता दिएको छ। किरण कँडेलको संगीत रहेको यस गीतको रचयिता गायिका बन्दना स्वयम् रहेकी छन्।
बृहत रुपमा ठूलो भोलुममा निर्माण भएको शुभ–बिबाह गीतको भिडियोले नेपाली आधुनिक गीत–संगीतमा नयाँ आयाम थप्न सफल भएको छ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२ ०७:२८