बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
काठमाडौं। कुची र कलम अनि ब्रस चलाउने जीवन्त कलाकारहरुको साझा संगठन नेपाल व्यावसायिक कलाकार संघ (क्यान)मा बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ सर्वसम्मत अध्यक्ष चुनिएको छ। ललितपुरको महालक्ष्मीस्थानमा शनिवार सम्पन्न क्यानको चौथौं राष्ट्रिय महाधिवेशनले कलाकार श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चुनिएको हो।
सोही महाधिवेशनले सर्वसम्मत अध्यक्ष श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति पनि चयन पनि गरिएको छ। जसमा सह–अध्यक्षमा तिलक प्रसाद पुनलाई चयन गरेको छ। त्यसैगरी उपाध्यक्षहरुमा कमलराज श्रेष्ठ, एच.बि. रम्तेल, बाबुराम बस्ताकोटी, बाबुराजा द्यःला, रुद्रराज सिंह, सुरेश कुमार पाल्पाली र विष्णु प्रसाद सिग्देल छन्।
महासचिवमा भोलानाथ पौडेल, उपमहासचिवमा दिपेन्द्रमान बनेपाली, सचिवमा विजय कुमार कार्की दली र दिपक कुँवर तथा कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा देवी प्रसाद तिम्सिना चयन भएका छन् । सदस्यहरुमा सुष्मा श्रेष्ठ, मानकाजी श्रेष्ठ, राधेश्याम मुल्मी छन् । २१ जना सदस्य भने पछि मनोनित गरिने जनाएको छ।
महाअधिवेशनको उद्घाटन बागमती प्रदृेशका सामाजिक विकास मन्त्री हरिप्रभा श्रेष्ठ खड्गीले गरेकी थिइन्। प्रमुख अतिथि मन्त्री खड्गीले नेपाल व्यावसायिक कलाकार संघको महत्व र आवश्यकता अनि यस संघले कला क्षेत्रमा दिदैआएको योगदानको कदरको दिल खोलेर प्रशंशा गरेकी थिइन्। कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली लगायतकाको विशेष आतिथ्यता रहेको थियो।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ २२:०६