काठमाडौं । संसारकै सबैभन्दा लामो र सबैभन्दा ठूलो दावी गरिएको तेश्रो संस्करणको संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड भव्य तथा सभ्य रुपमा शनिवार संपन्न भएको छ। आँट, साहस र धैर्यको प्रतिक बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार क्रियशन नेपालको आयोजनामा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा तेश्रो संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड बृहत रुपमा सम्पन भएको हो।

बागमती प्रदेशका मन्त्री प्रेम महर्जनको प्रमुख आतिथ्यता र युगिन लेखक तथा निर्देशक प्रकाश सायमीको विशेष आतिथ्यतामा संपन्न उक्त नेपालभाषा म्युजिक भिडियो अवार्डको ४१ विधामा १ सय ७२ वटा अवार्ड प्रदान गरिएको थियो। यस अवार्डलाई सबैभन्दा लामो अवधि सञ्चालन भएको र सबैभन्दा बढी ४१ विधामा १ सय ७२ वटा अवार्ड वितरण गरिएको अवार्ड कार्यक्रम भनी विश्व रेकर्डको लागि गिनिज बुक अफ वल्र्डमा दावी गरिएको छ। जसमा नेपाली तथा नेपालभाषा चलचित्रका युगीन कलाकार पवन जोशीलाई नगद १५ हजार राशी सहित मल्टीस्टार अवार्ड प्रदान गरिएको थियो। पवन जोशीको नेपाली तथा नेपालभाषाका चलचित्रमा विगत पचास बर्षदेखि अनवरत् योगदानको कदर स्वरुप उक्त अवार्ड प्रदान गरिएको जनाएको छ।
त्यस्तै, नेपाली तथा नेपालभाषाका गीत–संगीतको क्षेत्र पचासौं बर्षदेखि अनवरत् क्रियाशील गायक तथा संगीतकार रत्न बेहासीलाई नगद २५ हजार राशी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो। अवार्ड कार्यक्रममा नेपालभाषा म्युजिक भिडियोका पहिलो निर्देशक विजयरत्न तुलाधरलाई आधिकारिक सम्मान सहितको अवार्ड प्रदान गरिएको थियो। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख निर्मल रत्न शाक्यले सर्वोत्कृष्ट गीतकार अवार्ड पाउंदा काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा सरकार प्रमुख न्हुछेकाजी महर्जनले गीतकार विधामा नै जुरी अवार्ड पाएका थिए। बागमती सफाई अभियानका अभियन्ता गीतकार बागमती भाइ सुन्दरमान श्रेष्ठले गीतकार विधामा नै पिपल्स च्वाइस अवार्ड जितेका थिए।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२ ११:००