धरान । सवैका दिनचर्या बदलेपनि धरानका घर-घरमा एकाविहानै पत्रिका पुर्याउने ७५ बर्षका कृष्णभक्त श्रेष्ठको दिनचर्या भने बदलिएको छैन्। उनको जाँगर र हिम्मतमा उही रफ्तार रहेको छ ।
पत्रिकाको लागि जन्मेको सिद्धपुरुषको रुपमा उनलाई धरानमा लिइने गरेको छ । समय जस्तोसुकै भएपनि पत्रिका प्रति उनको माया र लगाव उस्तै छ। फरक भएको छैन् । कान्तिपुर दैनिकका धरान संवाददाता एलिना राईको शव्दमा पछिल्ला ३६ वर्ष यता उनी निरन्तर एउटै परिचयमा बाँचेका छन्, पत्रिका हकर ।
एलिनाकै शव्दमा धरानमा जन्मेर पनि कृष्णभक्तले लाहुरे हुने सपना देखेनन् । किनकि २००८ सालमा जन्मिएका उनी ६ महिनामै कोक्रोबाट लडेका थिए। त्यतिबेलै उनको खुट्टा भाँचिएको थियो । समयमै उपचार नभएकाले यही घटनापछि उनको दुवै खुट्टाको सन्तुलन गुम्यो। कृषक बाबुका छोरा कृष्णले १० कक्षाभन्दा माथि पढ्ने अवसर पनि पाएनन् । अपांगताकै कारण बाबुसँगै खेतीपातीमा पनि उनी रम्न सकेनन्। रेल्वे गाउँबाट धरान झरेर उनी हकर भए।

त्यसयताको बदलिएको नेपालका हरेक खबरका उनी पाठक त भए नै, चोकचोक घुम्दै पत्रिका बेच्ने भएकाले बदलिँदो धरानको साक्षी पनि भए। बोलीचालीमा उनले धरानको सबैभन्दा पुरानो हकरको परिचय पाएका छन् । एक समय त यस्तो थियो, कृष्णलाई पत्रिका बेच्न भ्याइनभ्याइ थियो।
धरानको पुरानो बजार, छाता चोक, रत्नरोड उतिबेलाका धरानका मुख्य बजार थिए । त्यहाँ थिए, मैनाली पुस्तक पसल र अन्य किताब पसलको लाइन। त्यहाँ एकबिहानै अखबार पढ्न आउनेको भिड लाग्थ्यो ।
अहिले धरानमा हरेकका मोवाइलमा इन्टरनेटको सुविधाको कारण हरेकका मोवाइलमा समाचार आउने भएको कारण समय अलि बदलिएको छ। तर, पत्रिकामा विश्वास गर्नेहरुको जमात भने नघटेको कृष्णभक्तको जिकिर छ ।
कृष्णभक्तलाई स्पष्ट सम्झना छ, माओवादी जनयुद्ध उत्कर्षमा पुगेका बेला र जनआन्दोलनताका अखबारको बिक्री उत्पात थियो। किनकि खबरका अरु माध्यम पनि थिएनन् । उनले सुनाए, ’आज के समाचार छ, कहाँ के भयो, हिरोहिरोइनले केके गर्दैछन्, कुन फिल्म लाग्दैछ, त्यसमा ककसले खेलेका छन् भन्नेसम्मका विषयमा मानिसमा कौतूहलता थियो । त्यसलाई मेटाउने एउटै माध्यम पत्रिका थियो।’
शुरुमा ११ वडा मात्र रहेको धरानलाई २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिमतर्फ रहेको घोपा गाउँ पञ्चायतको केही क्षेत्रलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएको थियो । २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पाँचकन्या गाविसलाई पनि धरान नगरपालिकामा गाभेर २३ वडा कायम गरेकोसम्मका घटनाका सम्झना कृष्णभक्तलाई छ।
२०७१ मंसिर १६ मा भने विष्णुपादुका गाविसलाई पनि धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरी धरान उपमहानगरपालिमा बढोत्तरी भयो। धरानलाई कृष्णभक्तले अखबारका समाचारमार्फत चिनेका छन् अनि पैदलै यसका चोकचोक घुमेर बुझेका छन्।
उनले पूर्वी पहाडी जिल्ला जाने मुख्य रुटका रुपमा धरानको चहलपहल देखेका छन् अनि पहाडी क्षेत्रबाट कैयौं दिन पैदलै नुन किन्न आउनेहरुको दुःख पनि । उपचारको खोजीमा धरान झरेकादेखि यहीँ बसेर भविष्य खोजिरहेकासम्म सबैसबैलाई देखेका छन् उनले। यसकारण उनी धरानका जिउँदा जाग्दा साक्षी बनेका कृष्णभक्त श्रेष्ठ छन् ।
उनका अनुसार, इन्टरनेट घर–घरमा र मोबाइल हात–हातमा पुगेपछि पत्रिका पढ्नेहरु घटे । कृष्णभक्तको काम पनि घट्यो अनि कमाइ पनि। धरान-१६ स्थित पार्वती टोलमा ३५ सय कोठामा भाडा तिरेर बुढेसकालका दिन बिताइरहेका कृष्णभक्त हिजोआज हरेक महिना बत्ती, पानी र बिजुली गरेर तिर्नुपर्ने झन्डै ५ हजार रुपैयाँ र अन्य खानपान खर्च कसरी जुटाउने भन्ने चिन्तामा हुन्छन् ।
बिहे गरेर घर गइसकेका ३ छोरीहरुले बेलाबखत उनलाई सम्झिन्छन् र दुःख घटाइदिन्छन् । उनले भावुक हुँदै सुनाए, ’उतिबेला मैले जग्गा जमिन जोड्न पाइनँ, अलिकति सम्पत्ति जोडेको भए आफ्नै घर हुन्थ्यो होला । आज अर्काको घरमा भाडामा बस्नुपरेको छ।’
याे पनि :
नामी साप्ताहिक