उदयपुर । चौदण्डीगढी, एभरेस्ट भ्यु टप, ताप्लीपोखरी, बेतेनी भन्ज्याङ, चुनढुंगा खानीलगायतका क्षेत्रमा छ पर्यटन सम्भावना
पूर्वी नेपालकै भित्री मधेशमा उदयपुर एकपटक हेरेपछि बिर्सन नसकिने जिल्ला हो ।
‘उदय’ नामका राजाले शासन गरेको इतिहास बोकेको यो जिल्ला खनिज पदार्थ, वनजंगल, हिमशृंखला, नदीनाला, ऐतिहासिक गढी, धार्मिक पोखरी, विविध जातजातिको संस्कृति र मौलिक भेषभूषाले समृद्ध छ । तर, पूर्वाधार र प्रचार–प्रसारको कमीले पर्यटनको अथाह सम्भावना बोकेको यो क्षेत्र थलिएको छ । पूर्वपश्चिम राजमार्गको नजिक र मदन भण्डारी लोकमार्गसँगै जोडिएको उदयपुर अझै पनि पर्यटनको क्षेत्रमा परिवर्तन आउन सकेको छैन ।
ऐतिहासिक दुई गढी
उदयपुरको ऐतिहासिक पहिचान बोकेका दुई प्रमुख गढी—उदयपुरगढी र चौदण्डीगढी–जिल्लाका मुख्य पर्यटन आधार हुन् । दुवै गढी चुरे, भावर, दुन र महाभारत पर्वत शृंखलाभित्र अवस्थित छन् । जसले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक महत्व बोकेका छन् ।
सरकारले पहिचान गरेका १०० पर्यटकीय गन्तव्यमध्ये उदयपुरको एक मात्र आधिकारिक गन्तव्य उदयपुरगढी हो । फागुनदेखि वैशाखसम्म सर्वाधिक चहलपहल हुने रौतापोखरी धार्मिक आस्था नै होइन, प्रकृति र शीतल वातावरणमा रमाउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको छ । गुरुयोजना र डिपिआर तयार भएर पूर्वाधार निर्माण सुरु भइसकेकाले आगामी दिनमा यस क्षेत्र व्यवस्थित तीर्थस्थलका रूपमा विकास हुने अपेक्षा गरिएको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगर बताउँछन् । उनी भन्छन्, ‘मदन भण्डारी लोकमार्गबाट रौतापोखरीलाई जोड्ने सडक मुख्य समस्या बनेको छ ।’
ताप्ली गाउँपालिका– २ मा १,८०० मिटर उचाइमा अवस्थित ताप्लीपोखरी प्राकृतिक र धार्मिक महत्वको अनुपम संयोजन हो । यहाँबाट सगरमाथा, लोत्सेलगायतका हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यहाँबाट हिमशृंखलाको ‘पोस्टकार्ड भ्यु’ अनुभव गर्न सकिन्छ । यद्यपि प्रचार–प्रसार अभाव र पहाडी कच्ची सडकका कारण बाह्य पर्यटकको संख्यामा अपेक्षित वृद्धि हुन नसकेको सरोकारवाला बताउँछन् ।
त्यस्तै, कटारी नगरपालिका– ११ मा अवस्थित बेतेनी भन्ज्याङ घाम–हुस्सु र मौसम परिवर्तनको चाँडो चक्रका कारण विशेष अनुभव दिने गन्तव्य हो । कटारी बजारबाट करिब १६ किलोमिटर उत्तरमा पर्ने यो ठाउँबाट चारैतिरको हरियाली दृश्य अत्यन्त आकर्षक देखिन्छ । लिम्चुङबुङ गाउँपालिकाभित्र पर्ने एभरेस्ट भ्यु टप पछिल्लो समय अत्यधिक लोकप्रिय बनेको छ । यहाँबाट सगरमाथासहित आठवटा प्रमुख हिमाल अवलोकन गर्न सकिन्छ । इलाम, मोरङ, झापा, सुनसरी, सिराहा, सप्तरीलगायत जिल्लाबाट यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दो छ ।
यसैगरी, उदयपुरगढी गाउँपालिका– ७, अधेरीस्थित अर्जुन डहर पार्क पछिल्ला वर्षमा आकर्षक आन्तरिक पर्यटकीयस्थल बनेको छ । मोतीगडा, देवधार, नेपालटार, बेल्का दरबार, मैनामैनी, सुकेपोखरी, भूगोल पार्क, भ्यु टावर, टुँडिखेल, जोगीधारा, भालुदह, विभिन्न महादेव मन्दिर र थुप्रै गुफा र झरना उदयपुरका अतिरिक्त प्राकृतिक गन्तव्य हुन् ।
औद्योगिक पर्यटनका दृष्टिले उदयपुर सिमेन्ट उद्योग, मारुती र सौर्य सिमेन्टका चुनढुंगा खानी, सम्भावित कृषि–आधारित उद्योग, बाँस तथा ढुंगाका हस्तकला उद्योग महत्वपूर्ण आधार हुन् । उत्पादन प्रक्रियादेखि प्याकेजिङसम्मको अवलोकन हुने फ्याक्ट्री भ्रमण (इन्डस्ट्रियल टुर)लाई शैक्षिक पर्यटनसँग जोड्न सकिने स्थानीय बताउँछन् ।
विकासको प्रमुख चुनौतीमा सडक
उदयपुरमा पर्यटन विकासको मुख्य चुनौती सडक पूर्वाधार हो । सिद्धिचरण, सगरमाथा र मदन भण्डारी लोकमार्गले उदयपुरलाई देशभरका सहरसँग जोडे पनि, अधिकांश गन्तव्यसम्म पुग्ने ग्रामीण सडक अझै कच्ची, साँघुरो र जोखिमपूर्ण छन् ।होटेल तथा पर्यटन व्यवसायी संघ, उदयपुरका महासचिव ईश्वर राईका अनुसार, तीनवटा ठुला राजमार्गको पहुँच पुगे पनि रौतापोखरी, उदयपुरगढी, ताप्ली, एभरेस्ट भ्यु टप, बेतेनी, चुरे–महाभारत क्षेत्रतर्फ जाने मार्ग कच्ची भएकैले पर्यटन विस्तारमा बाधा परेको छ ।
उदयपुर उद्योग वाणिज्य संघ, कटारीका पूर्वउपाध्यक्ष मदन कटुवाल सडक गुणस्तरलाई मुख्य समस्या मान्छन् । उनका अनुसार, विद्युत्, टेलिफोन, इन्टरनेटजस्ता आधारभूत सेवा प्राय: सबै ठाउँमा पुगे पनि, सडक कमजोर हुँदा पर्यटक दीर्घकालीन रूपमा बस्न सकिरहेका छैनन् ।
मौलिक खानपानको ब्रान्डिङ र व्यवस्थापन नहुनु, स्थानीयस्तरमा पर्यटनप्रतिको चेतना र व्यावसायिक ज्ञान अभाव, तालिमप्राप्त गाइड र सेवाप्रदायकको कमी पनि अन्य चुनौती हुन् । अर्कोतर्फ, स्थानीय खानाका परिकार पनि ब्रान्डिङ हुन सकेका छैनन् । मुख्य कुरा प्रचार–प्रसार अभाव नै छ ।
स्थानीय, प्रदेश र संघीय सरकारबिच समन्वयमा पर्यटकीय क्षेत्रको व्यावसायिक विकास हुन नसकेको कटुवाल बताउँछन् । नेपाली कम्युनिस्ट पार्टीका नेता उद्धव खत्री भन्छन्, ‘अहिले स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्यटनमा आउने बजेट टुक्रे प्रकारका छन् । त्यसले पनि पर्यटकीय क्षेत्रको विकास हुन सकेको छैन । स्थानीय सरकारले पनि पर्यटकीय क्षेत्रमा लगानी गरेर व्यावसायिक बनाउन ध्यान दिन सकेका छैनन् । त्यसकारण, उदयपुरको पर्यटकीय क्षेत्र नाम मात्रका छन् ।’
ताप्ली गाउँपालिका अध्यक्ष ढुंगाराज विश्वकर्मा भन्छन्, ‘गाउँपालिकाको बजेट मात्र सोचेको सबै काम गर्न नसकिने रहेछ । प्रदेश र संघीय सरकारबाट पर्यटकीय क्षेत्रमा आउने बजेट सानो आकारमा हुने गरेकाले समस्या हुनेरहेछ । सोचेजति काम गर्न नसकिने रहेछ ।’