Top Navigation
Main Navigation
मंगलबार, जेठ २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, जेठ २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
विदुर कटुवाल
विदुर कटुवाल आइतबार, चैत २२, २०८२

उदयपुर । उदयपुर जिल्ला प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र सांस्कृतिक विविधताले भरिपूर्ण छ। त्रियुगा नदीको चुरे क्षेत्र होस् वा रौतापोखरी क्षेत्रको हरियाली, पहाडी भेगका मनोरम दृश्य, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू यी सबैले उदयपुरलाई सम्भावनाशील पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने पर्याप्त आधार प्रदान गर्छन् ।

तर विडम्बना, यति धेरै सम्भावना हुँदाहुँदै पनि उदयपुर पर्यटन विकासका हिसाबले पछाडि परेको जिल्लाका रूपमा चिनिन्छ। वर्षौँदेखि पर्यटन क्षेत्रका लागि बजेट विनियोजन भएका छन्, केही काम पनि भएका छन्, तर परिणाम देखिने गरी उपलब्धि हासिल हुन सकेको छैन। किन यस्तो भयो ? यसको मूल कारण के हो ?

यस प्रश्नको उत्तर खोज्न पर्यटन क्षेत्रसँग जोडिएका केही अनुहारतर्फ फर्कनुपर्छ । उनीहरूको गतिविधि हेर्दा मन खिन्न पनि हुन सक्छ। यही सन्दर्भमा ‘झोले पर्यटन व्यवसायी’ वा पर्यटन क्षेत्रका विचौलियाहरूको चर्चा अपरिहार्य हुन्छ ।उदयपुरको पर्यटन विकासमा यिनै प्रवृत्तिहरू प्रमुख बाधकका रूपमा देखिएका छन् ।

यी झोले व्यवसायीहरू प्रायः स्थानीय, प्रदेश र संघीय सरकारका पहुँचमा हुन्छन् । पर्यटनसम्बन्धी बजेट तिनकै प्रभावमा विनियोजन हुन्छ, योजना पनि तिनकै आग्रहमा निर्माण गरिन्छ । योजना बनाउने र कार्यान्वयन गर्नेहरू धेरैजसो सत्तानिकट व्यक्तिहरू नै हुन्छन्। तामझामका साथ आफूले गरेको कामको प्रचार गरिन्छ, तर परिणाम भने शून्यजस्तै हुन्छ ।

उदाहरणका लागि, प्याराग्लाइडिङ क्षेत्रमा २०७४ यता कति बजेट खर्च भयो ? के उपलब्धि हासिल भयो? बेलका नगरपालिकामा केही प्रयास देखिए पनि त्यो निजी क्षेत्रको पहल हो । सरकारी उपलब्धि होइन । अन्य स्थानमा भने खर्च मात्र भएको देखिन्छ। त्यस्तै, सुनकोशी नदीमा र्‍याफ्टिङका नाममा पटक–पटक परीक्षण गरिए पनि त्यसले स्थायी व्यवसायिक रूप लिन सकेको छैन ।

आन्तरिक तथा बाह्य पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि उदयपुरमा पर्यटन नाममै सीमित किन छ? सुनकोशीमा र्‍याफ्टिङ, पहाडी क्षेत्रमा प्याराग्लाइडिङ, रौतामाई तथा महाभारत र चुरे क्षेत्रमा हाइकिङ तथा धार्मिक पर्यटन, बेलका क्षेत्रको प्राकृतिक सुन्दरता, ऐतिहासिक उदयुरगढी र चौदण्डीगढी दरबार क्षेत्र छन् ।  यता सांस्कृतिक विविधता पनि भरिपूर्ण जिल्ला उदयपुर हो।

यी सबैले बलियो पर्यटनको आधार तयार गर्न सक्छन्। यदि व्यवस्थित योजना, पूर्वाधार विकास र दीर्घकालीन रणनीति अपनाइने हो भने उदयपुर पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्थ्यो। तर यथार्थ भने फरक छ ।

पर्यटन विकासका नाममा वर्षौँदेखि बजेट आउँछ, योजना बन्छन्, कार्यक्रम घोषणा हुन्छन्, तर उपलब्धि कागजमै सीमित रहन्छ। २०४६ सालपछि पर्यटनलाई प्राथमिकता दिने नीति बने पनि उदयपुरमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन। संघीय सरकारमार्फत बजेट विनियोजन हुँदै आए पनि त्यसको उपयोगिता र उपलब्धिबारे पारदर्शी अभिलेख सार्वजनिक रूपमा देखिँदैन।

गणतन्त्र स्थापनापछि संघ, प्रदेश र स्थानीय तहबाट बजेटको मात्रा बढे पनि परिणाम भने अपेक्षित देखिएन । यसले स्पष्ट संकेत गर्छ–समस्या बजेटको अभाव होइन, व्यवस्थापनको कमजोरी र नियतमा खोट हो।

उदयपुरमा पर्यटन प्रवद्र्धनका नाममा पटक–पटक प्याराग्लाइडिङ र र्‍याफ्टिङ तालिम सञ्चालन गरिएका छन्। लाखौँ रुपैयाँ खर्च गरेर युवाहरूलाई तालिम दिइएको छ । तर ती तालिमले व्यावसायिक रूप किन लिन सकेनन् ? मुख्य कारणहरूमा तालिमपछि आवश्यक उपकरण, पूर्वाधार र लगानीको अभाव, बजार प्रवद्र्धनको कमी, दीर्घकालीन योजना र अनुगमनको कमजोरी तथा तालिमलाई मात्र उपलब्धि देखाउने प्रवृत्ति पर्दछन्। यसले देखाउँछ कि योजना निर्माणमा वास्तविक आवश्यकताभन्दा बजेट खर्च गर्ने मानसिकता हावी छ।

त्यस्तै, पर्यटन प्रवद्र्धनका नाममा आयोजना हुने मेला–महोत्सवहरू पनि प्रभावकारी हुन सकेका छैनन्। स्थानीय तहहरूले लाखौँ बजेट छुट्याएर कार्यक्रम गर्छन् । केही दिन चहलपहल हुन्छ, व्यापार बढ्छ, नेताहरूको भाषण हुन्छ। त्यसपछि सबै सेलाउँछ। दीर्घकालीन रूपमा पर्यटन विकासमा यस्ता कार्यक्रमहरूको प्रभाव न्यून देखिन्छ । तर यस्ता कार्यक्रमलाई प्राथमिकता दिइनुको कारण स्पष्ट छ–छिटो बजेट खर्च गर्न सजिलो, राजनीतिक लाभ लिन सकिने र विचौलियाहरूलाई अवसर मिल्ने ।

पछिल्लो समय उदयपुरमा मेला–महोत्सवको लहर नै चलेको छ । बेलका नगर क्षेत्रमा ‘प्रथम बेलका प्राकृतिक, सांस्कृतिक तथा साहसिक महोत्सव–२०८३’ आयोजना हुँदैछ । त्यस्तै, रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ पनि आयोजना हुँदैछ। यस्ता कार्यक्रमहरूले सम्भावना उजागर गर्ने दाबी गरे पनि दीर्घकालीन पूर्वाधार निर्माण, गन्तव्य व्यवस्थापन र निरन्तर प्रचारको अभावले अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन।

उदयपुरको पर्यटन क्षेत्रमा अर्को गम्भीर समस्या झोले पर्यटन व्यवसायीहरूको उदय हो । यस्ता व्यक्तिहरू पर्यटन उद्योगमा दीर्घकालीन लगानी गर्नेभन्दा पनि बजेटको पहुँचमा आधारित हुन्छन् । राजनीतिक प्रभावका आधारमा योजना ल्याउने, तालिम र कार्यक्रम कब्जा गर्ने, कागजी प्रगति देखाएर बजेट सक्ने र वास्तविक व्यवसायिक लगानी नगर्ने–यिनका मुख्य विशेषता हुन् । यसले पर्यटन क्षेत्रलाई निजी स्वार्थको साधन बनाएको छ।

फलस्वरूप, इमान्दार व्यवसायीहरू पछाडि परेका छन् र समग्र क्षेत्रको विश्वसनीयता कमजोर बन्दै गएको छ। उदयपुरमा पर्यटनको अथाह सम्भावना हुँदाहुँदै पनि पूर्वाधार विकास कमजोर छ । चौदण्डीगढी, उदयपुरगढी, ताप्लीपोखरी, बेतेनी भन्ज्याङ, चुनढुंगा खानीलगायत क्षेत्रहरू महत्वपूर्ण सम्भावना बोकेका छन् । सरकारले पहिचान गरेका १०० पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी एक हो।
तर यी गन्तव्यहरूमा पुग्ने सडक पूर्वाधार कमजोर छ । 

सिद्धिचरण, सगरमाथा र मदन भण्डारी लोकमार्गले जिल्ला जोडिए पनि अधिकांश पर्यटकीय स्थलसम्म पुग्ने ग्रामीण सडक कच्ची, साँघुरा र जोखिमपूर्ण छन् । विद्युत्, सञ्चारजस्ता आधारभूत सेवा पुगे पनि सडकको कमजोरीले पर्यटक लामो समय बस्न सक्ने वातावरण बनेको छैन। सडक निर्माणमा पनि विचौलियाको प्रभाव र कमिसन संस्कृतिको समस्या देखिन्छ ।

यसका साथै मौलिक खानपानको ब्रान्डिङको अभाव, पर्यटनसम्बन्धी चेतनाको कमी, तालिमप्राप्त गाइड तथा सेवाप्रदायकको अभाव र कमजोर प्रचार–प्रसार पनि चुनौतीका रूपमा रहेका छन् । समग्रमा हेर्दा पारदर्शिताको कमी, कमजोर सरकारी अनुगमन, राजनीतिक हस्तक्षेप, दीर्घकालीन योजनाको अभाव र स्थानीय सहभागिताको कमी नै मुख्य समस्या हुन् ।

यदि उदयपुरको पर्यटन क्षेत्रलाई वास्तवमै विकास गर्ने हो भने केही ठोस कदम आवश्यक छ। २०४६ यताका पर्यटनका खर्चको समग्र अडिट, दीर्घकालीन गुरुयोजना, पारदर्शी प्रणाली, व्यावसायिक लगानी प्रोत्साहन, प्रभावकारी अनुगमन तथा मूल्यांकन प्रणाली र विचौलिया नियन्त्रण नै हो। 

उदयपुरमा पर्यटनको सम्भावना कमी छैन; समस्या त्यसको सदुपयोग गर्ने इच्छाशक्ति र प्रणालीको हो। झोले पर्यटन व्यवसायी र विचौलियाको प्रभाव कायम रहँदासम्म यहाँको पर्यटन कागजमै सीमित रहनेछ । अब समय आएको छ। बजेट खर्च गर्ने होइन, परिणाम दिने पर्यटन नीति अपनाउने। नत्र, उदयपुरको पर्यटन ‘सम्भावनाको कथा’ मै सीमित रहने खतरा अझै जीवित छ ।

निष्कर्ष

उदयपुरको पर्यटन विकासको बहस अब सम्भावनाको चर्चा गर्ने चरणमा अड्किनु हुँदैन। दशकौँदेखि दोहोरिँदै आएको ‘योजना बनाउने–बजेट खर्च गर्ने–कागजी उपलब्धि देखाउने’ चक्र तोड्नैपर्छ । पर्यटन क्षेत्रलाई साँच्चिकै उकास्न राज्य, निजी क्षेत्र र स्थानीय समुदायबीच स्पष्ट भूमिका बाँडफाँट, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नु अनिवार्य छ ।

झोले प्रवृत्ति र विचौलिया संस्कृतिमाथि नियन्त्रण नगरीकन कुनै पनि योजना सफल हुन सक्दैन। त्यसैले अब प्राथमिकता हुनुपर्छ। इमान्दार लगानीकर्तालाई प्रोत्साहन, दीर्घकालीन पूर्वाधार निर्माण, स्थानीय स्रोत–साधनको सदुपयोग र वास्तविक पर्यटन उत्पादन विकास।

यदि आजैबाट नीतिगत सुधार, कडाइका साथ अनुगमन र परिणाममुखी कार्यान्वयन सुरु गरिएन भने उदयपुरको पर्यटन सधैँ ‘सम्भावनाको कथा’मै सीमित रहनेछ । तर सही दिशा समात्न सके, यही उदयपुर पूर्वी नेपालको नमुना पर्यटकीय गन्तव्य बन्न पनि सक्छ । विकल्प तपाँइ हाम्रो हातमै छ। 

(लेखक कटुवाल पत्रकार हुनुहुन्छ ।)
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ०७:०७
##विदुर कटुवाल
प्रतिक्रिया दिनुहोस्
थप विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? सोमबार, वैशाख २८, २०८३
नेपालको गौरवमाथि सत्यगत अडान
नेपालको गौरवमाथि सत्यगत अडान आइतबार, वैशाख २७, २०८३
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती शुक्रबार, वैशाख २५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
  • नंः २ सभापति रविलामिछाने र भाजपा अध्यक्ष नितिन नवीनबीच भेटवार्ता
  • नंः ३ कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
  • नंः ४ ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
  • नंः ५ अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्