इच्छारानी थापा
काठमाडौ। हिजोआज लुकीछिपी होस् या खुलेआम पुरुषको हाराहारीमा महिलाहरुलेपनि चुरोट सेवन यानी धुम्रपान गर्ने बानी व्यापक देखिन थालिएको छ। अघिल्ला पुस्ताका महिलाहरुमा घाँस–दाउरा गर्दा या मेलापातमा जाँदा चुरोट सेवन गर्ने प्रचलन परम्परागत रुपमा नै थियो । त्यो परम्परामा यतिखेर आधुनिकरण भएको छ। फेसनेबल तथा आफूलाई बढी सेक्सी देखाउन चुरोट सेवन गर्ने महिलाहरुको बानीमा तिब्रता रहेको पाइन्छ । जुन महिला स्वास्थ्यको लागि अवश्य पनि राम्रो भने होइन्।
त्यसमाथि, धुम्रपान हरेक मानिसको स्वास्थ्यको लागि खतरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ। बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन बढ्दो छ । भविष्यमा महिलालाई धुम्रपान निकै महंगो बन्न सक्छ । उनीहरुले सेवन गरेको धुम्रपानले उनीहरुमा गर्भपतन मात्र होइन विभिन्न समस्या पैदा गराउँछ । चुरोट वा बिडि सेवन गर्ने महिलालाई गर्भावस्थामा विभिन्न समस्याहरु देखापर्छन् । जसले महिलाहरुमा बाँझोपन तथा गर्भपतनको समस्था पैदा गराउँछ ।
त्यस्तै भ्रुणको विकासमा समेत रोक लगाउने गरेको अध्ययनले देखाएको छ। गर्भावस्थामा महिलाले धुम्रपान गर्दा भ्रुणको विकासमा रोकावट आउने स्वयम् डाक्टरहरु नैबताउँछन् । त्यतिमात्र होइन बच्चाको प्रजनन् क्षमतामा समेत नराम्रो असर देखापर्छ । अर्कोतर्फ, जुन महिलाले धुम्रपान गर्छिन् ति महिलाहरुको स्तनमा दुधको मात्रा कम हुन्छ । जसले उनको बच्चामा नकारात्मक असर पर्छ ।
अनुसन्धानमा उल्लेख भएअनुसार यदि आमाले गर्भावस्थाको सुरुको अवस्थामा चुरोट पिउने गरेकी छन् भने उनको सन्तान कुपोषणको सिकार हुन्छन् । गर्भमा बच्चा हुँदा चुरोट पिउने महिलाको सन्तानलाई पोषण तत्वको कमी हुन्छ । चुरोट पिउने महिलामा दुई प्रकारका प्रोटिनको निर्माण हुन सुरु हुन्छ । अस्थिर कोशिकाहरु ‘ओस्टेओक्लास्टस’ को निर्माणमा वृद्धि हुन्छ । जसले हड्डीमा मासीहरुको मात्रामा कम गर्दै लैजान्छ र हड्डी कमजोर हुन सुरु हुन्छ ।
यति मात्र कहाँ हो र ? चुरोट पिउने महिलाहरुमा ‘कोरोनरी हर्ट डिजिज’ जस्तो मुटुको रोग लाग्न सक्छ । त्यसैगरी फोक्सोमा चुरोटको धुँवाले असर गर्छ । पुरुषसरह धुम्रपान गर्ने महिलालाई फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ । साथै, दैनिक एक प्याकेट चुरोट पिउने महिलाको मृगौला बिग्रिने सम्भावना ५१ प्रतिशतले बढी हुन्छ ।
धुम्रपान गर्ने महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढ्छ । अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा समस्या आउँछ र दम जस्तो गम्भीर रोग लाग्छ । पुरुषको तुलनामा महिलाको छाला धेरै मुलायम र कमजोर हुन्छ । त्यसैले चुरोटको असर महिलामा बढी हुन्छ । जुन महिला चुरोट पिउँछन् ति महिलामा चाउरीपन, डार्क सर्कल र ओठमा कालोपनको समस्या बढी हुन्छ। त्यसकारण, चुरोट खाने बानी छ भने, समयमा नै त्यागौं र स्वस्थ बनौं ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२ १९:४५