काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावसँगै संविधान संशोधनका लागि ११ सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ।
सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेको हो। प्रस्तावित तालिका अनुसार जेठ मसान्तसम्म सङ्घ, प्रदेश, पालिका, वडा तथा जनसङ्गठनको सङ्गठनात्मक समायोजन सम्पन्न गरिनेछ भने असार–साउनमा श्रम शिविर सञ्चालन, सदस्यता नवीकरण तथा विस्तारको काम अघि बढाइनेछ।
त्यसैगरी, भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना रहेको एक नेताले जानकारी दिए। महाधिवेशनसँग सम्बन्धित दस्ताबेज र प्रतिनिधि व्यवस्थाबारे निर्णय कार्यसमितिबाट गरिनेछ।
यसैबीच, बैठकले संविधान संशोधनका लागि ११ सदस्यीय मस्यौदा कार्यदल पनि गठन गरेको छ। समसामयिक राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै संविधान संशोधनसम्बन्धी बहसलाई व्यवस्थित, सशक्त र जनमुखी बनाउन कार्यदल गठन गरिएको पार्टीले जनाएको छ।
कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कन्दङ्वा, रेखा शर्मा, ई. गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य रहेका छन्।
पार्टीका अनुसार संविधानलाई अझ समावेशी, लोकतान्त्रिक र जनअपेक्षाअनुसार परिमार्जन गर्ने उद्देश्यले कार्यदल गठन गरिएको हो। कार्यदलले संघीयता सुदृढीकरण, जनअधिकार सुनिश्चितता, सामाजिक न्याय तथा समतामूलक विकासका विषयलाई प्राथमिकतामा राख्दै विभिन्न वर्ग, क्षेत्र र समुदायका मुद्दा समेटेर प्रस्ताव तयार गर्नेछ।
नेकपाले संविधान संशोधनलाई जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा लिएको जनाउँदै व्यापक छलफल, अध्ययन र सरोकारवालासँग परामर्शमार्फत परिपक्व र व्यवहारिक प्रस्ताव ल्याइने विश्वास व्यक्त गरेको छ। साथै, पार्टीले सबै पक्षलाई सकारात्मक सुझाव दिन आह्वानसमेत गरेको छ।