काठमाडाैँ । कला र कलाकारिता समाजको ऐना हो । यही कला र कलाकारिताले समाजको सही चित्रण गर्ने भएको कारण कला र कलाकारितालाई राष्ट्रको गहना पनि भन्ने गरिएको हो।
राष्ट्रको गहनारुपी कला र कलाकारिता भन्नाले लेखनकला, चित्रकला, मूर्तिकला हस्तकला, काष्ठकला,नाचगान–नृत्यकला, गीत–संगीत, अभिनय कला तथा मोडलिङ लगायत भएको तथ्यको जानकारी कला र कलाकारिता क्षेत्रमा विगत चालिस बर्षदेखि निरन्तर लाग्दैआएका कलाकार तथा निर्देशक अमृतमान महर्जनले दिएका छन्।
विसं.२०३९ सालदेखि कला र कलाकारिताको लागि सानै उमेरवाट क्रियाशील बन्दैआएका कलाकार तथा निर्देशक अमृतमान महर्जनको कला यात्रासंगै लेखन यात्रा अनि पढाईमा पनि अब्बलता रहेको छ। त्रिभुवन विश्वविद्यालयवाट अर्थशास्त्र तथा नेपालभाषा दुई विषयमा एम.ए.को डिग्री हासिल गर्ने संभवत पहिलो कलाकार नै मानिएका महर्जनको कला यात्राले सगर चुमिसकेको छ। यद्यपि, नेपाली तथा नेपालभाषा कला क्षेत्रमा लुकेको प्रतिभाको रुपमा महर्जन देखिएको छ। कला र कला क्षेत्रका सवै कार्यमा पारंगत मानिएका कलाकार महर्जनको लेखन शक्ति देखि अभिनय, निर्देशन कला देखि प्राविधिक रुपमा छायाँकन तथा सम्पादनसम्म दख्खलता रहेको छ।
सवै क्षेत्रमा सवैका लागि मरिमेटे्र काम गर्ने कलाकार महर्जन आफ्ना लागि भन्दा अरुका लागि बढी काम गर्ने कलाकार अनि निर्देशकका रुपमा उनी चिनिएका छन्। उनले निर्माण तथा निर्देशन गरेका कयन चलचित्र तथा टेलिचलचित्रमा आफ्ना नाम राखेका छैनन्। प्राय धेरै चलचित्रमा उनले अरुकै नामका लागि काम गरिदिएका छन्। अर्थात उनी घोष्ट राइटर तथा कलाकार अनि निर्देशक हुनमा रमाए। जसको कारण धेरै काम गरेतापनि उनी अरुजस्तो चर्चामा आउन नसकेकै हो। जुन कुरामा उनले होइन भन्न सकेका छैनन्।
उनै अमृतमान महर्जनले निर्माण तथा निर्देशन गरेको नेपालभाषामा अघिल्लो चलचित्र स्वयनगुले विश्वप्रसिद्ध अवार्डहरु जित्न सफलता प्राप्त गरिसकेको छ। हाल पछिल्लो चलचित्र गजागु संस्कार निर्माण तथा निर्देशन गर्ने कार्यमा उनी तल्लिन रहेका छन्। यस चलचित्रमा युगीन कलाकार तथा निर्देशक पवन जोशीको लेखन रहेको छ। केही दिन अघिमात्र काठमाडौंको मैतीदेवी मन्दिरमा विशिष्ट कलाकार कमेडी किङ मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा यस चलचित्रको भव्य शुभमुहुर्त कार्य पनि सम्पन्न भैसकेको छ। छायाँकनको दौडमा रहेको यस चलचित्रमा विशिष्ट कलाकार मदनदास श्रेष्ठको लिडिङ रोल रहेको छ। साथमा शोभा महर्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ।
अरुले भन्दा बेग्लै र अरुभन्दा फरक हुन चाहने कलाकार तथा निर्देशक अमृतमान महर्जनको आफ्नै सोच तथा शैली रहेको छ। त्यस सोच तथा शैलीका कारण उनी हिडन ट्यालेन्ट भएका कलाकार तथा निर्देशकको रुपमा चिनिएका छन्। यसअर्थमा अमृतमान महर्जन नेपाली कला र कलाकारिता अनि विशेषगरी नेपालभाषा चलचित्र तथा भिडियो क्षेत्रका एक प्रतिष्ठित कलाकार तथा निर्देशक हुन्। दुई दशकभन्दा लामो समयदेखि कलाकारितामा सक्रिय उनी आफ्नो बहुमुखी प्रतिभाका धनी कलाकारका रुपमा चिनिन्छन्।
महर्जनले दर्जनौँ टेलिचलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री र नेपाल भाषाका चलचित्रहरूमा अभिनय तथा निर्देशन गरेका छन््। उनले निर्देशन गरेका ’डर’, ’नाता जिन्दगीको’, र नेपालभाषाका धारावाहिक टेलिचलचित्र ’उलचया वाखँ ठुलिचा’ जस्ता कृतिहरू दर्शकमाझ निकै लोकप्रिय छन्।
सन् २०१८ मा आयोजित दोस्रो ओएस नेपाल अवार्डमा उनले नेपाल भाषाको भिडियो ’पलख आसे’ मार्फत ’उत्कृष्ट भिडियो निर्देशक’को उपाधि जितेका थिए। ठूलो पर्दाका धेरै चलचित्रमा नाम नराखिकन काम गरेका छन्। जसको लेखोजोखा उनले पनि गरेका छैनन्। उनले ठूलो पर्दाको चलचित्र ’क्रिमिनल’ (ऋचष्mष्लब)ि को पनि निर्देशन गरेका छन्, जुन उनको करियरको एक महत्वपूर्ण उपलब्धि मानिन्छ।
अमृतमान महर्जनलाई विशेष गरी नेपाली तथा नेपालभाषाका म्युजिक भिडियो र चलचित्र क्षेत्रलाई व्यावसायिक बनाउन र नयाँ पुस्ताका कलाकारहरूलाई मार्गनिर्देश गर्न महत्वपूर्ण भूमिका खेल्ने स्रष्टाका रूपमा चिनिन्छ। कला र कलाकारिताको संवद्र्धन तथा विकासका लागि सदा कटिवद्ध तथा प्रतिबद्ध भएर लाग्दैआएका उनको भाषामा कला र कलाकारिता क्षेत्रमा खासगरी युवाहरू तथा टिन एजर समूहको बाहुल्यता हुन्छ। कलाकारिता क्षेत्रको प्रवद्र्धन र विकासमा निजी क्षेत्रको भूमिका अहं भएको पाईन्छ। स्कूल एजको यो उमेर अतिरिक्त कृयाकलाप सिक्ने उमेर पनि हो ।
यसैले कलाकारिताको यो क्षेत्रमा टिन एजरको सहभागिता बढी नै हुने गरेको पाईन्छ। हिजोआज त बिभिन्न टेलिभिजन च्यानलले यो क्षेत्रका प्रतिभाहरू खोजी गर्ने क्रममा बिभिन्न कार्यक्रम समेत चलाउदै देशका कुना काप्चा सम्म पुग्ने गर्छन्। यसप्रकारका प्रयासहरूले नयां नयां कलाकारहरूलाई जन्माएको पाईन्छ। जुन सकारात्मक पक्ष हो।
यसरी विभिन्न प्रतियोगिताबाट खारिदै आउदा ओझेलमा परेका कलाकारहरू उजागर हुने मौका पाएर यिनीहरूले आफ्नो र देशको मुहार उज्यालो बनाएका छन्। जुनसुकै क्षेत्रको पनि दुईवटा पाटा हुन्छन् एउटा सकारात्मक र अर्को नकारात्मक । यो कलाकारिता क्षेत्र सकारात्मक हुदाहुदै पनि यसको ब्यबस्थापन गर्न नजान्दा र नसक्दा यो क्षेत्रमा उदाउदै गरेका प्रतीभाहरू बीचमै खतरामा पर्ने गर्छन् र यिनिहरूको भविष्य अन्धकार हुन पुग्छ।
यस्तो अबस्था आउनुका पछाडि धेरै कारण रहेको वताउंदै कलाकार तथा निर्देशक महर्जन ती मध्ये केही प्रमुख कारणमा यिनीहरूले संरक्षकत्वको अभाव भएको भन्छन्। उनका अनुसार, यिनीहरू घरको संरक्षकत्वबाट टाढा हुने र अर्को भर पर्ने र विश्वासिलो संरक्षकत्वको अभावमा बस्नु पर्ने हुदा यिनीहरू उपर सुरक्षा खतरा हुन्छ। यस्ता प्रतिभाहरुको कलाबाट जो कोही पनि आकर्षित हुन सक्छ र संरक्षकत्वको अभावमा सो आकर्षणको दुरूपयोग नहोला भन्न सकिदैन।
त्यसैले यस्ता कलाकार सुरक्षाको खतरामा हुन्छन्। अधिकांश यस्ता कलाकार टिन एजर हुने हुदा यिनीहरू शारीरिक र मानसिक तवरले अपरिपक्व हुन्छन्। यिनीहरूसंग सोच्ने शक्ति कमजोर हुन्छ। आफ्नो भविष्य बारे सोच्न नसक्ने बेलामा यिनीहरू उपर हुने असुरक्षाको आंकलन गर्न सक्दैनन्।
अधिकांश कलाकारहरूको पढ्ने उमेरमा यो क्षेत्र तिर आकर्षण बढ्दै जान्छ जसले यिनीहरूको शैक्षिक विकास रोकिन सक्छ। यसरी शैक्षिक विकासमा अवरोध आउनु निश्चय पनि सुखद पक्ष हैन।
यो क्षेत्र अन्य क्षेत्रको तुलनामा बढी ग्ल्यामरस हुन्छ जुन स्वभावैले बढी खर्चिलो हुन्छ। यो पूरा गर्न खोज्दा कलाकारहरू कुलततिर लाग्ने डर हुन्छ। त्यसैगरी हाम्रो समाज यो क्षेत्रमा जति बढी जिम्मेवार हुनु पर्ने हो ? त्यति जिम्मेवार हुनुको सट्टा तमासे भएको पाईन्छ, जसले गर्दापनि यो क्षेत्रले संरक्षक विहीनताको समस्या झेल्दै गएको यथार्थ तर्क पनि कलाकार तथा निर्देशक महर्जनको छ।
यो समस्याबाट पुरूष कलाकारको तुलनामा महिला कलाकार बढी पीडित भएको पाईन्छ। यो क्षेत्रले प्रारम्भमा यस्तै समस्याहरु भोग्ने गरेको पाईन्छ तर यसबाट हरेश नखाई अगाडि बढ्ने र देखिएका समस्यालाई क्रमशः कम गर्दै जान सक्नु पर्छ। यसको निम्ति सम्बन्धित अभिभावक नै जिम्मेवार बन्नु पर्ने हुन्छ। आफ्ना सन्तानको कलाकारिता क्षेत्र तर्फको क्षमता पहिचान गरी उनीहरूको सहभागितालाई प्रोत्साहन र संरक्षण गर्न प्रारम्भमा स्वयं अभिभावक खट्नु पर्ने राय पनि महर्जनको छ। जब उनीहरू परिपक्व हुदै जान्छन् अनि साथीहरूको साथमा छोड्न सकिन्छ।
त्यसै गरी विद्यालयले पनि आफ्ना विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूको औपचारिक शिक्षामा वाधा नआउने गरी साथ सहयोग र संरक्षकत्व दिनु पर्ने हुन्छ। यसरी बहकिन सक्ने उमेरलाई ख्याल गरेर कलाकारको क्षमतालाई अगाडि बढाउने नीति स्थानीय सरकारले पनि लिनु पर्ने हुन्छ। कलाकारलाई समाजको ऐना र राष्ट्रको गहना बनाउन परिवार, समाज र सरकारको अहं भूमिका रहन्छ। यसैले यस तर्फ सम्बन्धित सबैले बेलैमा ध्यान पुर्याउन जरुरी भएको राय पनि महर्जनको छ।