काठमाडौं । नेपाली चलचित्र उद्योगमा कलाकारहरूको भीडबीच केही यस्ता अनुहार छन्, जसले ग्ल्यामरभन्दा आफ्नो अभिनय कौशलका कारण दर्शकको मन जित्न सफल भएका छन्। नेपालभाषा चलचित्र क्षेत्रमा यस्तै एक सशक्त र स्वाभाविक अभिनयका कलाकार हुन्– सुशील श्रेष्ठ। चार दशक लामो इतिहास वोकेका कलाकार सुशील श्रेष्ठ नाम जस्तै शान्त स्वभावका स्वाभिमानी कलाकार हुन्।
इतिहासको त्यो कालखण्डका कलाकार सुशीलको कलायात्रा भगवान बुद्धको गीति नाटकवाट भएको हो। चार दशक अघि त्यो बेलाका रेडियो नेपालका सशक्त संगीतकार गणेशप्रसाद श्रेष्ठको प्रेरणा तथा प्रोत्साहनवाट कलाकारितामा होम्मिएका सुशीलको कलाकारिता अचानक भएको भने होइन, मनभरिको चाहना र भित्री अन्तरमनले खोजेको उत्साहले नै हो।
त्यो उत्साह अनि चाहनामा नेपालभाषाको पहिलो चलचित्र ‘सिलु’बाट अभिनय यात्रा प्रारम्भ गरेका सुशील श्रेष्ठले त्यसयता कहिल्यै पछि फर्केर हेर्नुपरेन। कुनैबेला चलचित्र जीवन रेखाको लागि नायक शिव श्रेष्ठसंगै स्क्रीन टेष्ट दिएका उनले अर्को नेपाली चलचित्र कान्छीमा पनि ट्रायल दिएका थिए। चलचित्र के घर के डेरामा भने हरिवंश आचार्यसंग साइड डान्सर भएर अभिनय गर्न पाए ।
त्यस्तै, अर्को नेपाली चलचित्र विश्वासमा समेत मेनेजरको भूमिकामा अभिनय गरेका उनले हिन्दी फिल्म खोज नेपालमा छायाँकन हुदा नायक ऋषि कपुरसंग पनि साइड रोलमा अभिनय गरेका थिए। यति धेरै लामो अनुभव वोकेका उनी इतिहास वोकेका वर्तमान कलाकार हुन्। नेपाली तथा हिन्दी फिल्मको अभिनय कलाकारिता पछि नेपालभाषा चलचित्रमा उनी चुर्लुम्मै डुबेका हुन्।
यसमा उनी धेरै रमाए पनि । अझ युगीन कलाकार तथा निर्देशक पवन जोशीको साथ र सहयोग अनि उत्प्रेरणाले लामो समयको ब्रेक पछि अभिनय कलामा फर्केको उनले भनेका छन्। नेपालभाषाको पहिलो चलचित्र सिलु पछि बाँला मयजु, सुन्दरी, धकी दुने, बसन्त ऋतु, लाखे आजु, तीन तिकः महा बिकः, महारानी, सनाखतसम्ममा सहनायक भएर अभिनय गरिसकेका छन्। पछिल्लो नेपाली चलचित्र भने, हालै उनले भाग्य आ–आफ्नोमा सहनायक भएरै अभिनय गरेका छन्।
चार दशकभन्दा लामो अभिनय यात्रामा उनले नेपालभाषा चलचित्र उद्योगको उतारचढाव, संघर्ष र विकासलाई नजिकबाट अनुभूति गरेका छन्। चलचित्रको सुरुआती चरणदेखि वर्तमान समयसम्म निरन्तर सक्रिय रहनु आफैंमा उनको समर्पण र कला प्रतिको निष्ठाको प्रमाण हो।
सुशील श्रेष्ठलाई दर्शकमाझ लोकप्रिय बनाउने प्रमुख पक्ष भनेको उनको स्वाभाविक अभिनय शैली हो। पात्रको मनोविज्ञान बुझेर त्यसलाई पर्दामा जीवन्त रूपमा उतार्ने क्षमताले उनलाई अन्य कलाकारभन्दा फरक पहिचान दिएको छ। चाहे पारिवारिक कथा होस्, सामाजिक विषयवस्तु होस् वा भावनात्मक चरित्र, उनले निभाएका भूमिकाहरू दर्शकको स्मृतिमा लामो समयसम्म रहने गरेका छन्।
नेपालभाषाका दर्जनौं चलचित्रमा अभिनय गरिसकेका श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा पनि आफ्नो उपस्थिति बलियो बनाएका छन्। भाषाको सीमाभन्दा माथि उठेर अभिनय कला नै आफ्नो पहिचान बनाएका उनले विभिन्न धारका चलचित्रमा अभिनय गर्दै बहुआयामिक कलाकारको परिचय दिएका छन्।
चलचित्र मात्र होइन, सयौं म्युजिक भिडियोमार्फत पनि उनले आफ्नो अभिनय क्षमताको परिचय दिएका छन्। प्रेम, पीडा, संघर्ष, हास्यदेखि सामाजिक सन्देश बोकेका गीतसम्म, हरेक कथावस्तुमा आफूलाई ढाल्न सक्ने कलाकारका रूपमा उनी स्थापित छन्। म्युजिक भिडियोको पर्दामा देखिने उनका अभिव्यक्ति र प्रस्तुति दर्शकले सहज रूपमा आत्मसात् गर्ने गरेका छन्।
नेपालभाषा चलचित्र उद्योगलाई जीवित राख्न र यसको पहिचान विस्तार गर्न योगदान दिने कलाकारहरूमध्ये सुशील श्रेष्ठको नाम अग्रपंक्तिमा आउँछ। नयाँ पुस्ताका कलाकारहरूका लागि उनी अनुभव, अनुशासन र निरन्तरताका प्रतीक बनेका छन्।
आज डिजिटल युगमा चलचित्र र मनोरञ्जनका स्वरूपहरू परिवर्तन भइरहेका बेला पनि सुशील श्रेष्ठको अभिनयप्रतिको लगाव र सक्रियता उस्तै छ। यही समर्पणले उनलाई नेपालभाषा चलचित्र जगतका एक सम्मानित, भरोसायोग्य र स्वाभाविक अभिनयका कलाकारका रूपमा स्थापित गरेको छ।
कला र संस्कृतिको संरक्षणसँगै अभिनयमार्फत समाजलाई सन्देश दिने कलाकारका रूपमा सुशील श्रेष्ठको योगदान नेपालभाषा चलचित्र इतिहासमा सधैं स्मरणीय रहनेछ। नामी साप्ताहिकबाट