काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान जारी भएयता उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने उनी पहिलो व्यक्ति समेत बनेका छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बनेका हुन्। उनले झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका थिए।
यसैबीच, शीतलनिवासमै आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण कार्यक्रममा बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो।
प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन्। मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने तेस्रो वरीयतामा रहेका सुधन गुरुङले गृह मन्त्रालय सम्हालेका छन्।
यस्तै, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्।
त्यसैगरी, खड्कराज पौडेल पर्यटनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री र विक्रम तिमिल्सिना सञ्चार मन्त्री बनेका छन्।
सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावललाई दिइएको छ भने दीपक साह श्रम मन्त्री र सोविता गौतम कानुन मन्त्री बनेका छन्। साथै, सीता वादी महिला, बालबालिका मन्त्री नियुक्त भएकी छन्।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १३:३१