काठमाडाैं । बालेन सरकारका शिक्षा मन्त्री सस्मित पोख्रेलले शिक्षा ऐनलाई कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधिसँग जोडेर अगाडि बढाउने तयारी भइरहेको बताएका छन्। मन्त्री पोख्रेलले मन्त्रालयमा पदभार ग्रहणको क्रममा दिर्घकालीन दृष्टिकोणलाई मध्यनजर राख्दै कानुनको सुधार गर्ने योजना सार्वजनिक गरे।
उनले भने, “चुनावी अभियानमा हामीले पाएको मतमा हामी सबै संवेदनशील छौं। बाचा पत्रमा उल्लेखित कुरा अबको पाँच वर्षमा १०० वटा बाचा पूरा गर्ने र त्यसअनुरूप काम सबै मन्त्रालयको संयोजनमा अघि बढाउने योजना छ।”
मन्त्री पोख्रेलले वर्तमान विश्व परिदृश्यमा सबै देशहरू एआई र सूचना प्रविधिको मार्गमा अघि बढिरहेका रहेको उल्लेख गर्दै, नेपालले पनि यस दिशामा कदम चाल्नुपर्ने बताए। उनले उदाहरण दिँदै भने, “आजको दिनमा अमेरिकी हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र नेपालको एक साधारण नागरिकको सूचना पहुँच लगभग समान हुन थालेको छ। शिक्षा र सूचना जनताको मौलिक अधिकार हुन्। यसमा कुनै समस्या छैन, तर एआईको माध्यमबाट सबैको हातसम्म जानकारी पु¥याउन सकिन्छ। अब यो जानकारी विद्यार्थीहरूसँग कसरी जोड्ने भन्ने कुरा सोचेर कानुन बनाउनुपर्ने आवश्यकता छ।”
उनले हालको शिक्षा कानुन तत्कालीन आवश्यकता र सतही समस्याहरूको समाधानका लागि बनेको भए पनि, भविष्यका ५० वर्षको परिप्रेक्ष्यलाई ध्यानमा राखेर कानुन निर्माण गर्नु आवश्यक रहेको बताए।
मन्त्री पोख्रेलले थपे, “दिर्घकालीन दृष्टिकोण राख्दै, अहिले व्यापक रूपमा विकास भएको एआई र सूचना प्रविधिलाई समेटेर नेपालको पाइपलाइनमा रहेको शिक्षा ऐनलाई अझ सुधार गरेर अगाडि ल्याउने योजना बनाइरहेका छौं।”
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ १९:३९