स्वयंलाई नेता ठानेको दिनदेखि पार्टी कार्यालय चाहारी रहेको छु आफ्नो राजनीतिको यात्रा अघि बढाउन तर कोहि पनिमलाई नेतामान्न तयार छैनन्। अचम्मको अवस्था आइलागेको छ मलाई ।
सबै आफ्नै अड्कलवाजी लगाउँछन् मलाई देखेर। कोहि खल्ती नै नभएको लुगा लगाएर नेता बन्न नसकिने कुरा गर्छन भने कोहि गल्ति नै नभएको अनुहार बोकेर नेता बन्न नसकिने कुरा गर्छन् ।
टाउकोभित्रको गिदीलाई जतिसुकै छड्Þकिने गरि पकाए पनि कुरा बुझ्न सकेको छैन मैले । टाकन टुकन पार्टी, भोज भतेर पार्टी, ठोक ठाक पार्टी, अन्तरघाती पार्टीदेखि देखाउने पार्टी, जुधाउने पार्टी, टुक्राउने पार्टी, सिलाउने पार्टी सबैतिर गइसके तर मेरो केहि सिप लागेन।
नेता बन्न पनि नेता कै सिफारिस चाहिने रहेछ, आफैले आफुलाई नेता मात्र भनेर के गर्नु । अनि अर्को कुरा पार्टीमा छिर्न अर्को पार्टीलाई तोडफोड गरेको अनुभव आवश्यक रहेछ । आफुसँग दुवै कुराको अभाव भएकोले पार्टीमा छिरेर नेता बन्ने रहर ’आकाशको फल आँखा तरी’ मर जस्तो बनेको छ ।
नेताबन्ने आफ्नो चाहनात्यतिकै तुहिएर जालाभन्ने डरले देशकै कान्छो पार्टी ’अण्टसण्ट’ पार्टीमा पनि पुगे हिजो । नेता त जसरि भए पनि बन्नु छ मलाई। समाजबाद र साम्यबादको नारा एकैचोटी घन्काएर लोकप्रिय बन्दै गरेको यो अण्टसण्ट पार्टीको कार्यालय पुग्नासाथ् पार्टीका नेताले मेरो अन्तर्वार्ता लिन थाले ।
अचम्म लाग्दो कुरो, म पार्टी सुदृढिकरणको लागि पार्टी प्रवेश चाहन्थे तर पार्टी नेताको चाहना अरु नै थियो जुन कुरा उनीसँगको प्रश्न उत्तरले सजिलै प्रष्ट्याउँछ।
नेताः जेल कति चोटी गएका छौ ?
मः छैन, गएको ।
नेताः ढुंगामुढा गर्न आउँछ ? सडकमा टायर बाल्न आउँछ ?
मः आउँदैन ।
नेताः हतियार चलाउन आउँछ ?
मः आउँदैन ।
नेताः छलकपट गर्न आउँछ ?कमिसन भन्दै घुस खान आउँछ ?
मः आउँदैन ।
नेताः बिपक्षी दलका नेतालाई तथानाम गाली गर्न आउँछ ?
मः आउँदैन ।
नेताः सदनमा कुर्शी नपाए, त्यहि कुर्शी उठाउँदै अरुलाई हान्न आउँछ ?
मः आउँदैन ।
सबै प्रश्नको उत्तरमा’ आउँदैन’ भनेपछि नेताजी बड्बडाउन थाले,
के गर्नु यस्तो केहि नजान्ने
छल्न नजान्ने, ढाँट्न नजान्ने
पार्टीमा राखेर के गर्नु तिमीलाई
नेताहुँदैन, बोल्नै नजान्ने !
आफू नेता बने जस्तो लाग्थ्यो तर उनले बोल्नै नजान्ने बनाई दिए । उनले भनेपछि बल्ल थाहा भयो, भाषण गर्दा झुठ म्याराथन अपनाउन पर्ने रहेछ अनि बिपक्षीलाई सत्तोसराप गाली गर्नु पर्ने रहेछ । विकासका कुरा किन गर्नु पर्यो, फेरी सुन्नेनै पो को छ र! मेरो मनमा उम्लिएको विचारहरुसँग उनका कुराहरु ठ्याक्कै मिलेको अनुभव हुन थाल्यो मलाई।
झुठो नबोल्ने नेता हुँदैन
घुष नखाने नेता हुँदैन
कमिसनको खेल जान्नै पर्छ
जनता नठग्ने नेता हुँदैन !
जनता नठगी नेता नै नबनिने निधो गरेँ उनले तर आफूलाई त ठग्नै आउँदैन । परेन फसाद ! यस्तो अवस्थामा पार्टी प्रवेश गर्ने अरु कुनै द्वार छ कि भनेर सोधेको, उनको उत्तर यस्तो आयो :
पार्टीमा किन लेराउँ तिमीलाई
भन फाइदा के हुन्छ मलाई
बरु झोले बन केहि दिन तिमी
सुहाउँछ त्यहि बहुत तिमीलाई !
आफैले आफूलाई नेता ठानी सकेको मान्छे म, झोले भएर नि बस्नु ! कस्तो राम्रो अनि कत्रो कत्रो योजनाहरु छन् आफूसँग, यी नेता चाहीँ मलाई के ठान्छन कुन्नि। “मलाई पार्टीमा राखेर त हेर अनि देख्छौ मेरो सक्ति“, फ्वात्त फुस्कियो मुखबाट। मेरो सक्ति देखाउने कुरा मन परेन उनलाई, औला तेस्र्याउँदै फलाक्न थाले ।
न गठबन्धन हुन्छ, न चुनाव आउँछ
न पार्टी हाम्रो सत्तामा आउँछ
राखेर तिमीलाई के हुन्छ फाइदा
नचन्दा आउँछ, न कुर्शी आउँछ !
अन्त्यमा उनले मलाई राजनीतिन आउने ठोकुवा गर्दै भने :
चाहिदैन मलाई तिमी अहिले
राजनीति सिक तिमी पहिले
फर्केर आउ तिमी त्यो बेला
बन्नेछौ नेता तिमी जहिले !
पार्टी प्रवेश गर्ने मेरो प्रत्येक प्रयासलाई नेताले लत्याइदिए। के को नेता अनि कहाँको नेता बनेको रहेछु र म भन्दै आफैले आफूलाई लोप्पो ख्वाउनु भन्दा अर्को केहि काम बाँकी रहेन म सँग त्यो बेला। पार्टीको ढोका चाहर्नु र यस्ता नेताहरुको चाकरी गरेर समय खर्चिनु भन्दा बरु आफै एउटा पार्टी खोलौ भन्ने ठानेँ ।
पार्टीको नामकरण श्रीमतीले गरिन- “नेपाल गजब पार्टी“, अनि म चाही पार्टीको चुनावी घोषणा पत्र तयार पार्न थालेँ।
विरोधीलाई खबरदार गर्नु घोषणा पत्रको पहिलो प्राथमिकता बनाउनु उचित लाग्यो मलाई :
लेख्न बसे म आज चुनाव घोषणा पत्र
नफरत हुन्छ मलाई सुन्दा नम्बर सत्र
नम्बर गन्ने गणकहरु परै बस अब
नेपाल गजब पार्टी आयो सजाय दिन नत्र !
विकासका कुराहरुलाई घोषणा पत्रको अर्को महत्वपूर्ण बिषय बनाए मैलेः
काम हाम्रो कस्तो राम्रो, नाम झनै राम्रो
मिलिजुली खानलाई आयो पार्टी हाम्रो
खान खोज्ने मुखलाई बन्द गर्ने कसले
भागबण्डाको हिसाबलाई पार्छौ हामी राम्रो !
जनतासँगको सम्बन्धलाई अझ सुदृढ गर्ने प्रण गरियो :
कुर्सी अब हाम्रो हुन्छ, विरोधी बस टाढा
जनतासँग सम्बन्ध, बनाउनेछौं गाढा
मासुभातको भोज भतेर गर्छौ हामी संधै
जुगाड गर्छौ हामी पनि बिरोधि घोच्ने काँढा !
हाम्रो पार्टीले जनतासँगको प्रतिबद्धता घोषणा पत्रमा यसरि व्यक्त गर्यो :
कामधाम सबैलाई, पार्टी प्रवेश गर
पठाउनेछाै खाडीमा, सम्पत्ति लेराउ घर
खेतबारी बाँझै रहे, शुर्ता नराख मनमा
प्लटिङ्ग गर्दै जग्गा बेच्न, पर हाम्रै भर !
घोषणा पत्रलाई लयबद्ध गरिसकेपछि चुनावी नारा पनि लेखियो :
“भोट दिनुस् गजबलाई, गजब भएको हेर्नलाई“
घोषणा पत्र र चुनावी नारा दुबै बोकेर घरदैलो कार्यक्रम गर्ने तयारी हुँदैछ अहिले । तपाईको घरमा पनि आउंदैछौ हामी। देशमा गजब भएको हेर्नलाई हाम्रो “नेपाल गजब पार्टी“ लाई भोट दिएर सहयोग गर्नुहोला भन्ने अपेक्षा राखेका छौ ।
धन्यवाद !
अनि याे पनि :
नामी साप्ताहिक